१३ बैशाख २०८१, बिहिबार

सी जिनपिङको नेपाल भ्रमण रद्ध भएको छैन: चीन


chinese president

काठमाडौँ : चीनले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण रद्द भएको भनी मिडियामा आएका समाचारहरुबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।

सोमबार बेइजिङमा आयोजित विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुनयिङले कुटनीतिक च्यानलहरुमार्फत् नेपालसँग कुराकानी भइरहेको जानकारी दिइन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चीनसँगको सम्बन्ध विकासमा महत्त्व दिएकोमा चीन सरकारले प्रशंसा गरेको जानकारी पनि उनले दिइन्।

बुधबार अन्नपूर्ण पोस्टले पर्याप्त तयारी अभाव, वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर र केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव तीन कारण देखाउँदै चीनले भ्रमण स्थगित भएको समाचार प्रकाशित गरेको थियो।

समाचारमा ‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ’ भन्दै एक उच्च सरकारी अधिकारीलाई उद्धृत गरिएको थियो।

यसअघि परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भ्रमण स्थगित भएको समाचारको खण्डन गरेको थियो।

यसअघि साउथ चाइना मर्निङ पोस्टले भारतमा असोज २९ र ३० मा हुने ब्रिक्स सम्मेलनबाट फर्कने क्रममा असोज ३० गते नेपाल भ्रमण गर्न सक्ने समाचार दिएको थियो। उसले यो भ्रमणलाई दक्षिण एसियामा प्रभाव बढाउने चीनको संघर्षमा प्रमुख भूमिकामा रुपमा हेरिएको विश्लेषण पनि गरेको थियो।

सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको औपचारिक भ्रमण गरेयता उत्तरी छिमेकीबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !