४ बैशाख २०८१, मंगलबार

घोडा र खच्चड व्यवसायलाई असर पार्दै मोटरबाटो


Nepalpatra

७ चैत, पोखरा । सवारीसाधन नपुग्ने ठाउँका लागि आवतजावत र समान ढुवानीका लागि विकल्प हुन् घोडा र खच्चड । झण्डै डेढ दशक अघिसम्म देशका धेरै ठाउँमा ढुवानी र आवतजावतका लागि घोडा खच्चड प्रयोग गर्दै आएकाले यो व्यवसाय पनि आयआर्जनको महत्वपूर्ण विकल्प बनेको थियो ।

पदमार्ग क्षेत्रका लागि त यो व्यवसाय बरदान नै सावित थियो । पछिल्ला समय विस्तार हुँदै गएको मोटरबाटोले अधिकांश स्थानमा यो व्यवसाय हटिसकेको छ भने भएका ठाउँमा पनि यो पेशा विस्थापन हुँदै गएको छ ।

गण्डकी प्रदेशकै अन्नपूर्ण चक्रीय पदमार्गका साथै मनाङ, मुस्ताङ, पर्वत, वागलुङका साथै स्याङ्जा, गोरखा, लम्जुङ, कास्कीका अधिकांश स्थानमा घोडा र खच्चड प्रयोग गरिन्थ्यो । पछिल्ला वर्षमा धेरै ठाउँबाट यो व्यवसाय विस्थापन हुँदै गएको कास्कीको अन्नपूर्ण गाउँपालिकाका घोडा तथा खच्चड कल्याणकारी समिति अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो ।

स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणस्थल रहेको अन्नपूर्ण आधार शिविर जान र मालसमान ढुवानी गर्न विगतमा अत्यधिक खच्च्ड तथा घोडाको प्रयोग हुने गरेकामा अहिले पातालिदै आएको उहाँले जानकारी दिनुभयो । “गाउँगाउँमा बाटो पुगेको छ, बाटो नहुँदा मानिस घोडाबाटै आवतजावत गर्थे भने सामान खच्चडमा बोकाएर लगिन्थ्यो”, अध्यक्ष गुरुङले भन्नुभयो, “अहिले गाडीबाट मालसमान ढुवानी हुन थालेसँगै घोडा र खच्चड पाल्ने क्रम घटिरहेको छ ।”

पहिले अघिकांश घरमा सामान ढुवानी र आवतजावतका लागि खच्चड तथा घोडा पालिने र व्यावसायिक रूपमा पनि पाल्ने क्रम मा अहिले घान्द्रुकमा जम्मा ३६० खच्च्ड र ५० घोडा रहेकामा पाँच वर्ष अघि दोबरकै ती हाराहारीमा भएको उहाँले जानकारी दिनुभयो । बाटो विस्तारसँगै हाम्रो समाजको परम्परागत यातायातका साधन घोडा तथा मालसामान ढुवानीमा प्रयोग गरिने खच्चड पछिल्लो पुस्ताका लागि एकादेशको कथा हुने हो कि भन्ने चिन्ता थपिएको छ ।

घोडा र खच्चड हाम्रो समाजको प्राचीन संस्कृति एवं सभ्यतासँग समेत जोडिएको घान्दु्रक रोधी क्लबका अध्यक्ष पूर्ण गुरुङले बताउनुभयो । बाटो विस्तारसँगै घोडा, खच्चड व्यवसायमा सङ्कट आए पनि घान्द्रुकलगायतका क्षेत्रमा बाटोको निर्माण तीव्र रूपमा बढेका कारण व्यवसायीहरूले भने काम पाइरहेको उहाँको भनाइ थियो ।

“पहिले गाउँका मुखियाले मात्र घोडा चढ्ने भन्ने प्रचलन थियो, पछि विस्तारै अन्य सर्वसाधारणले पनि घोडा चढ्न थाले”, उहाँले भन्नुभयो, “घोडा आवतजावतका लागि मात्र नभई मनोरञ्जनको साधनसमेत भएकाले यसलाई पर्यटन क्षेत्रमा महत्वका साथ हेरिन्छ ।”

संस्कृतिको जर्गेना गर्न घोडा दौड

सङ्कटमा पर्दै गएको घोडापालन व्यवसायलाई जगेर्ना गर्दै यससँग जोडिएको घोडचढी संस्कृति रक्षार्थ घोडा तथा खच्चड कल्याणकारी समितिले गत बुधबार घान्द्रुकमा घोडा दौड प्रतियोगिता गरेको थियो ।

घान्द्रुकको मत्क्युँदेखि खोलोब्रोसम्मको पाँच हजार २०० मिटर दूरीको दौडमा विश्व गुरुङ प्रथम दीपेन्द्र विक दोस्रो र रामकÞाजÞी गुरुङ तेस्रो बन्नुभयो ।

विजयीहरूलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार पुरस्कारसहित अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, घोडा तथा खच्चड कल्याणकारी समितिका अध्यक्ष गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले सम्मन गर्नुभयो ।

मानव सभ्यताको विकाससँगै घोडापालन शुरु भएको चर्चा गर्दै गाउँपालिका अध्यक्ष कुँवरले घोडा दौड प्रतियोगिताले घोडचढी संस्कृतिबारे पछिल्ला पुस्तालाई जानकारी मिल्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !