८ बैशाख २०८१, शनिबार

सहकर्मीको सम्झनामा मणीन्द्र


Nepalpatra

५ चैत, काठमाडौँ । वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको देहावसानसँगै नेपाली सञ्चार क्षेत्रका एउटा धरोहरको अन्त्य भएको छ । सहकर्मी साथीसँग मिलेर मुलुकमा पहिलो पटक समाचार समितिका रुपमा सगरमाथा संवाद समिति तथा पछि राष्ट्रिय समाचार समितिको स्थापना गरी सञ्चार क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका उहाँसँग लामो काम गरेका सहकर्मी उहाँलाई इमान्दार र परिश्रमी पत्रकारका रुपमा सम्झनुहुन्छ ।

नेपालमा पहिलो पटक राष्ट्रियस्तरबाट विसं २०१८ फागुन ७ गते राष्ट्रिय समाचार समितिको स्थापना भएको हो । रासस स्थापना हुनुअघि नेपालमा सगरमाथा संवाद समिति र नेपाल संवाद समितिमा नामका दुई समाचार समिति थिए । श्रेष्ठका सहकर्मी उहाँलाई देश र जनताप्रति प्रतिबद्ध पत्रकार मान्नुहुन्छ ।

रासस समग्र राष्ट्रका लागि सूचनाको झ्याल हुनुपर्छ भनी मान्ने श्रेष्ठले साथीभाइसँगको भेटमा बारम्बार राससलाई विविधता र बहुलतातर्फ लाने बेला भइसकेको बताउने गरेको सम्झना आज पनि ताजै रहेको वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी बताउनुहुन्छ ।

राससले जनजीवनबारे समाचार खोज्नुपर्छ र नेपाली जनताको सार्वजनिक समस्यालाई रिपोर्टिङ गर्दा राम्रो हुन्छ भन्नेमा श्रेष्ठ जोड दिने गर्नुहुन्थ्यो । राससको अङ्ग्रेजी समाचार सेवालाई अनुवाद होइन, अङ्ग्रेजी भाषाको समाचार सेवा बनाउनुपर्छ भन्ने धारणा बारम्बार उहाँले आफूसँग व्यक्त गर्ने गरेको रेग्मीको अनुभव छ ।

वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, “मैले मणीन्द्रराज श्रेष्ठसँग धेरै सङ्गत त गर्न पाएको छैन तर उहाँसँग जति सङ्गत गरेको छु त्यसबाट उहाँ एउटा इमान्दार, साह्रै परिश्रमी तथा सहृदयी हुनाका साथै निर्णय क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो ।”

रिसालले सहपाठी मणीन्द्रराजले राससले छाप्न नसक्ने कडा खालका समाचार मेरो पत्रिका ‘मदरल्याण्ड’मा छापिदिन्छु भन्नुभएको स्मरण गर्नुभयो । यस्ता कतिपय समाचार पत्रकार माधव आचार्यमार्फत ‘मदरल्याण्ड’मा छापिन्थ्यो । विसं २०२४ मा राससको प्रमुख समाचारदातासहित लामो समय रासस समाचारदाताका रुपमा अनुभव संँगाल्नुभएका रिसालले राससलाई समयअनुरुप परिमार्जन गर्न सकेमा श्रेष्ठजस्ता संस्थापकको सपना पूरा हुने बताउनुभयो ।

रेग्मीले श्रेष्ठको ‘मदरल्याण्ड’ पत्रिकामा पनि आफूले लेखेको अनुभव सुनाउँदै श्रेष्ठ विवेक राखेर समाचार सम्पादन गर्नेमध्येका एक सम्पादक हुनुहुन्थ्यो भन्नुभयो । समाचार सङ्कलनमा नवीनता हुनैपर्ने तथा सम्पादन गर्दा रिपोर्टिङको मर्म बुझेर सम्पादन गर्नुपर्नेमा राससका प्रमुख समाचारदाताका रुपमा सेवा गरिसक्नुभएका रेग्मीले जोड दिनुभयो ।

राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले सगरमाथा संवाद समिति र राससको स्थापना गरेर श्रेष्ठले नेपाली सञ्चार जगत्ले बिर्सनै नसकिने गहकिलो योगदान गरेको बताउनुभयो ।

रासस स्थापना गर्नु अघिसम्म सगरमाथा संवाद समितिको नेतृत्व गरिरहनुभएका श्रेष्ठले सन् १९६९ मा ‘मदरल्याण्ड’ अङ्ग्रेजी पत्रिकाको पनि स्थापना गरी नेपालमा अङ्ग्रेजी पत्रकारिताको शुरुआत गर्नुभएको थियो भन्दै बस्नेतले यो उहाँको बिर्सनै नसकिने महत्वपूर्ण योगदानका रुपमा आफूले लिएको बताउनुभयो ।

राससको स्थापनाकालमा रासस बोर्ड अध्यक्षमा रामराज पौड्याल, गोविन्द वियोगी र श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । हिमाल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका फाइनान्स अफिसर सुनिल चित्रकारले श्रेष्ठले हिमाल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको स्थापना गर्नाका साथै रोटरी क्लब काठमाडौँ र काठमाडौँ जेसिजको अध्यक्ष तथा नेपाल गल्फ क्लबको १० वर्षसम्म अध्यक्ष भई काम गर्नुभएको जानकारी दिनुभयो ।

श्रेष्ठले विसं २०४० मङ्सिर २ मा स्थापना गरेको हिमाल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विदेशी कम्पनीसँग एजेन्सीका रुपमा काम गर्दै आएको चित्रकारले बताउनुभयो ।

काठमाडौँको सुप्रसिद्ध फुटबल क्लब एनआरटी ९न्युरोड टिम० बाट खेलकूद क्षेत्रमा सहभागी हुने राम्रो खेलाडीका रुपमा महत्वपूर्ण योगदान गर्नुभएका श्रेष्ठ काठमाडौँ खेल मण्डलमा पनि संलग्न हुनुभएको उहाँका छोरा शनि श्रेष्ठले जानकारी दिनुभयो । विसं १९९१ मा भाइटीकाका दिन जन्मनुभएका श्रेष्ठको गत शनिबार अपराह्न ३ बजे हृदयाघातबाट निधन भएको छोरा शनिले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले राससको संस्थापकमध्येका एक जीवित व्यक्तिका रुपमा हुनुभएका श्रेष्ठलाई गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले नेपाली पत्रकारिता तथा राससको विकासमा श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष अधिकारीले यस दुःखद् घडीमा उहाँको परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना पनि गर्नुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !