४ बैशाख २०८१, मंगलबार

पन्ध्र सयलाई स्वरोजगार तालीम


Nepalpatra

३ चैत, तुलसीपुर । नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो ।

नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको चौधरीको भनाइ छ । “नेपाल सरकारले देशभरि ४२ हजारलाई तालीम दिने योजना ल्याएको थियो, त्यसमा पनि यस वर्ष प्रदेश नंं ५ अन्र्तगत दाङमा पन्ध्र सयलाई स्वरोजगारमूलक विभिन्न तालीम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) तालीम लगायतका १९ वटा तालीम यस वर्ष सञ्चालन गरेको बताएको छ । त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने )तालीम शुरु भएको छ ।

बीस जना सहभागी रहेको तालीमको प्रशिक्षकमा दृष्टि विशेषज्ञ मदन चौधरी र प्रकाश चौधरी रहेको राप्ती प्राविधिक शिक्षालयका तालिम संयोजक कुलराज चौधरीले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीलाई एम्बुलेन्स

तुलसीपुर उपमहानगरपालिकाले विकट वडालाई लक्षित गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाका सम्पूर्ण वडामा एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएको उपमहानगरपालिकाले पहिलो चरणमा ३ वटा वडामा एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

वडा नम्बर १, १३ र १९ मा एम्बुलेन्स सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाका विकट वडा ४,७, ११, १५, १७ मा पनि यसै आर्थिक वर्षमा एम्बुलेन्स सञ्चालन गरिने छ । उपमहानगरपालिकाले सञ्चालन गरेका एम्बुलेन्समा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएकोछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !