८ बैशाख २०८१, शनिबार

न्यायिक समितिलाई सहज


Nepalpatra

२८ फागुन, नुवाकोट । जिल्लाका स्थानीय तहका न्यायिक समितिलाई मेलमिलापकर्ताका कारण न्याय सम्पादन गर्न सहज भएको छ । न्यायिक समितिले स्थानीयस्तरका विवाद समाधानलाई छिटोछरितो बनाउन मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् ।

मेलमिलापकर्ताले वडा वडामा मेलमिलाप गराउने हुँदा न्यायिक समितिसम्म थोरैमात्र विवाद आउने भएकाले सहज भएको सूर्यगढी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मञ्जु बुढाथोकीले बताउनुभयो । “वडा वडामा मेलमिलाप केन्द्र स्थापना भएका छन् । वडा कार्यालयसँगै स्थापना भएका मेलमिलाप केन्द्रमा नै धेरै विवाद समाधान हुन्छन् । त्यहाँ नभएका मात्र गाउँपालिकाको न्यायिक समितिमा आउँछ”, उहाँले भन्नुभयो, “यसले गर्दा सहज भएको छ । यही सहजताको लागि नै हामीले मेलमिलापकर्तालाई न्यायिक समितिअन्तर्गत राखेर परिचयपत्र प्रदान गरिरहेका छौँ ।”

भूकम्पछि जिल्लामा मेलमिलाप केन्द्रले जल, जङ्गल र जमीनसँग सम्बन्धित तथा अन्य सामाजिक विवाद मिलाउँदै आएका छन् । मेलमिलाप केन्द्र र न्यायिक समितिले गर्ने काम एउटै भएकाले गाउँपालिकाभित्र रहेका मेलमिलापकर्तालाई साथमा लिएर काम गर्न थालिएको ककनी गाउँपालिकाको न्यायिक समिति संयोजक सीता लामा खतिवडाले बताउनुभयो ।

अहिले जिल्लाका ८८ मध्ये ८६ वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका जिल्ला संयोजक सीताराम पौडेलले बताउनुभयो । मेलमिलापकर्तालाई संस्थाले तालीम दिने र काम न्यायिक समितिअन्तर्गत रहेर काम गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय न्यायिक समितिले झण्डै ३०० मेलमिलापकर्तालाई आफ्नो समितिअन्तर्गतको मेलमिलापकर्ता भनेर परिचयपत्र वितरण गरेका छन् ।

विवाद समाधान गर्नेबारे मेलमिलापकर्ताले आठ दिनको आधारभूत र चार दिनको उच्चस्तरीय तालीम लिएका हुन्छन् । मेलमिलापकर्तालाई सम्बन्धित वडासँग सहकार्य गरेर गाउँको विवाद गाउँमै मिलाउन आग्रह गरिएको ककनी गाउँपालिकाका उपाध्यक्ष खतिवडाले बताउनुभयो । सहकार्यका लागि अहिले न्यायिक समिति, वडाध्यक्ष, मेलमिलापकर्ता र सरोकारवालाबीच निरन्तर अन्तक्र्रिया भइरहेको छ । न्यायिक समिति गाउँपालिकाको केन्द्रमा हुने भएकाले गाउँका कुनाकन्दराका विवाद न्यायिक समितिसम्म आइपुग्छन् ।

मेलमिलाप केन्द्र र न्यायिक समितिका पदाधिकारीलाई तालीम दिई दक्ष बनाएर परिचालन गर्न विदुर नगरपालिका–९ का वडाध्यक्ष शनि चित्रकारले बताउनुभयो । अहिले गाउँपालिकाले मेलमिलाप केन्द्र सञ्चालन गर्न कक्ष र फर्निचरको व्यवस्थापनको सहयोग गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !