६ बैशाख २०८१, बिहिबार

दर्ता नगरी ‘खानी’ सञ्चालन


Nepalpatra

२४ फागुन, काभ्रेपलाञ्चोक । जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् ।

उपसमितिका अनुसार नमोबुद्ध नगरपालिका–४ मा पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि खानी सञ्चालन गर्दै आएको छ भने विसं २०६५ देखि ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले रोशी गाउँपालिका–७ मा बिना दर्ता खानी सञ्चालन गर्दै आएको छ । नमोबुद्ध नपा–६ मा ब्लु साइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी खानी सञ्चालन गर्दै आएका हुन् ।

उपसमितिको अनुगमनले चार वटा खानी अवैधानिकरुपमा सञ्चालन भइरहेको प्रतिवेदन दिएको जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिवेदनका आधारमा उद्योगसँग अल्टिमेटम दिएर खानी सञ्चालनसम्बन्धी कागजात मागेका छौँ, गैरकानूनीरुपमा सञ्चालित सबै खानी बन्द हुन्छन् ।”

उहाँका अनुसार जिल्लामा सञ्चाललित २३ वटा (ढुङ्गा, गिट्टी र बालुवा प्रशोधन तथा उत्पादन उद्योगमध्ये चार वटाको खानी अवैधानिक हो । उपसमितिको प्रतिवेदनमा काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको समेत उल्लेख छ ।

अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको र अवैधानिक खानीका कारण बस्ती जोखिममा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेश सांसद चन्द्र लामाले दर्ता नभएका उद्योगलाई तत्काल बन्द गर्नुपर्ने र प्रदेश सरकारको मापदण्डअनुसार सञ्चालन नगरिएका उद्योगलाई मापदण्ड पु¥याएर सञ्चालन गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि नभएको अवस्थामा क्रसर देखाएर बिना दर्ता सञ्चालन भएका खानी तत्कालै बन्द गर्नुपर्छ ।”
(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !