६ बैशाख २०८१, बिहिबार

समन्वयको अभावमा काम गर्न समस्या


dormani

१३ फागुन, विदुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभावमा काम गर्न समस्या भएको बताउनुभएको छ । नुवाकोट सदरमुकाम विदुरमा नेकपा नुवाकोटले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सङ्घले कर्मचारी नपठाउँदा प्रदेश सरकार बेकाम्मे बनेको आरोप लगाउनुभयो ।

तीन वटा सरकारबीच समन्वय हुन नसक्दा सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न नसकिएको दाबी गर्दैै मुख्यमन्त्री पौडेलले योजना निर्माण गर्दा प्राथमिकीकरण हुन नसकेकोले स्थानीय तहको योजना प्रभावकारी हुन सकेको छैन भन्नुभयो ।

सङ्घीय लोकतन्त्र संस्थागत गर्न मुलुकमा कर्मचारीतन्त्रमा समस्या रहेको बताउँदै मुख्यमन्त्री पौडेलले कर्मचारीतन्त्रकै कारण सङ्घीयता कार्यान्वयनमा समस्या भएको बताउनुभयो । कर्मचारी नहुँदा प्रदेश सरकारले सञ्चालन गरेका योजना कार्यान्वयनमा समस्या भएको उहाँले बताउनुभयो । सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको आर्थिक तथा सामाजिक विकासमा योगदान दिने खालका योजना छनोट गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिले आफ्नो पालिकामा परेका समस्या र प्रदेश सरकारको भूमिकाको बारेमा प्रश्न गरेका थिए । कार्यक्रममा सहभागीले पार्टीको घोषणापत्र र अहिलेका जनप्रतिनिधिले सञ्चालन गरेका कार्यक्रमबीच तालमेल हुन नसकेको, जनप्रतिनिधि आफूखुशी चल्ने गरेको, जनअपेक्षाअनुसार नीति तथा कार्यक्रम तय हुन नसकेको, पार्टी सङ्गठनबीच समन्वय नहुँदा दुई तिहाइको सरकारको आभास नागरिकले गर्न नसकेको गुनासो गरेका थिए । –––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !