१३ आश्विन २०८१, आइतबार

बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिँदै


सुन्तला खेती

१२ फागुन, बेझाड । सुन्तलाले प्रख्यात बनेको निस्दी गाउँपालिका–५ को गल्धा बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ ।

यस क्षेत्रमा सुन्तलाको उत्पादन वृद्धि हुँदै गएकाले गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको हो । यसका लागि उक्त गाउँपालिकाले दुई लाख ७० हजार विनियोजन गरेको छ । सोह्र घरपरिवारको मुख्य आयस्रोत नै सुन्तला खेती बनेको यहाँ हाल २२५ रोपनी जमीनमा तीन हजार ६०० सुन्तलाका बोटमध्ये दुई हजार १५० बोटबाट उत्पादन हुँदै आएको छ ।

अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका बहपुरका किसानले यस वर्ष मात्रै २५ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । दुई मुरी अन्नबाली नफल्ने जग्गामा कृषकले सुन्तलाबाट अहिले लाखौँको आम्दानी गर्न थालेका छन् ।

कोदो, मकै, हिउँदे बाली र तरकारी लगाइने जग्गा हिजोआज सुन्तलाले भरिएका छन् । सुन्तलाको उत्पादन बढ्दै गएपछि बहपुर गाउँको नाम नै सुन्तलापुरले चिनिन थालेको छ । हिउँदे तरकारी र मकै बाली लगाउँदै आउनुभएका अगुवा कृषक तेजन सुनारीले विगत नौ वर्षदेखि करीब २० रोपनी जग्गामा सुन्तला खेती गर्दै आउनुभएको छ ।

तीनसय बोट सुन्तला लगाएर वार्षिक रू साढे दुई लाखदेखि तीन लाखसम्म उहाँ आम्दानी गर्नुहुन्छ । सुनारीले यस वर्ष सुन्तलाबाट रू तीन लाख आम्दानी गर्नुभएको छ । “अन्नबाली लगाएर तीन महीनालाई पनि खान पुग्दैनथ्यो, सुन्तला लगाएपछि घर खर्च राम्ररी चलेको छ” उहाँले भन्नुभयो ।

गुनविर थापा मगरले करीब पन्ध्र रोपनी जग्गामा ३०० बोट सुन्तला लगाउनुभएको छ । दुई मुरी मकै, तरकारी, गेडागुडी नफल्ने जग्गामा अहिले लाखौँको सुन्तला उत्पादन हुँदा उहाँ आफै दङ्ग हुनुहुन्छ ।

“मेहनत पनि नपर्ने पाखो बारीमा सुन्तला लगाएर राम्रोसँग घर खर्च र छोराछोरीको पढाइ खर्च चलेको छ” उहाँले भन्नुभयो, “३०० बोट सुन्तलामध्ये १५० बोटबाट रू दुई लाख बराबरको आम्दानी हुँदै आएको छ ।”

सोही ठाउँकै ६१ वर्षीय मानबहादुर ढेँगाले पनि सुन्तलाबाट राम्रो कमाइ गर्दै आउनुभएको छ । उहाँको बगँैचामा ४०० बोट सुन्तलामध्ये १५० बोटबाट वार्षिक एक लाख पचास हजारदेखि दुई लाखसम्म आम्दानी हुन्छ ।

“पहिला पहिला मकै, भट्टमास लगाइन्थ्यो, खासै उत्पादन हुदैनथ्यो, सुन्तलाबाट नसोचेको उत्पादन र कमाइ लिएको छु” ढेँगाले भन्नुभयो । गाउँ पूरै सुन्तलाले ढाकिएको छ । यहाँ एक घरपरिवारले न्यूनतम पचास बोटदेखि ४०० बोटसम्म सुन्तला लगाएका छन् ।

तीन महीनालाई खान नपुग्ने जग्गामा सुन्तलाले राम्रो आम्दानी दिएको छ । सुन्तला खेती शुरु गरेपछि यहाँका कृषकको आयस्तर वृद्धि मात्र नभई दैनिक जीवनयापनमा पनि परिवर्तन आएको उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख नवराज घिमिरेले बताउनुभयो ।

“बहपुर गाउँ पूर्वी पाल्पाकै सुन्तला खेतीका रुपमा परिचित भएको र सुन्तला लगाएर प्रशस्त आम्दानी लिन सकिने भएकाले यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गरिएको हो” उहाँले भन्नुभयो । सुन्तलाको बगँैचाभित्र कृृषकले गेडागुडी, तरकारी, अदुवाका बाली पनि लगाएर दोब्बर आम्दानी पनि लिइरहेका छन् ।

पाल्पामा सुन्तलाको उत्पादन बढ्दो

पाल्पामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि आएको छ । यस वर्ष पाँच हजार ९३६ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लामा ७५९ हेक्टर जमीनमध्ये ४४८ हेक्टर जमिनमा सुन्तला खेती गरिएको छ । प्रतिहेक्टर १३.२५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ ज्ञानकुमार यादवले बताउनुभयो ।

गत वर्ष ४४० हेक्टर जमीनमा पाँच हजार २९२ मेट्रिकटन सुन्तला उत्पादन भएकामा उत्पादकत्व प्रतिहेक्टर १२ मेट्रिकटन रहेको छ । सुन्तला उत्पादनका लागि समय अनूकुल र रोग किराले आक्रमण कम भएकाले उत्पादन बढेको हो ।

जिल्लाको अमलावास, भुवनपोखरी, सोमादी, सिद्धेश्वर, पालुङ्गमैनादी, मुझुङ्, देउराली, खस्यौली, भैरवस्थान, गल्धा, रिङनेरह लगायत क्षेत्रबाट ठूलो परिमाणमा सुन्तला उत्पादन हुने गर्छ । यस वर्ष कृषकले प्रतिकिलो रु २५ देखि ७४ सम्मको मूल्यमा सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल बजारमा बिक्री हुने गर्दछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !