६ बैशाख २०८१, बिहिबार

आधुनिक पशु बधशाला निर्माण हुने


pradesh n 3

८ फागुन, हेटौँडा । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा सात आधुनिक पशु बधशाला निर्माण गरिने भएका छन् ।

प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा आधुनिक पशु बधशाला निर्माण गर्ने सरकारको योजना रहेको भए पनि पहिलोे चरणमा सात मात्र निर्माण सम्पन्न गरिनेछ । बधशाला निर्माणमा सरकारको कूल रु १० करोड बजेटमध्ये पाँच करोडको कामको प्रस्ताव आह्वान भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रस्तावअनुसार प्रदेशका १३ वटै जिल्लाका इच्छुक साझेदारले बधशाला निर्माणका लागि प्रस्ताव पेश गर्न सक्छन् भने प्रक्रिया पुगेका प्रस्तावमध्ये आवश्यकता र प्राथमिकताका आधारमा सात जिल्लाका लागि सात बधशाला निर्माणका लागि सम्झौता हुने निमित्त सचिव गदालले जानकारी दिनुभयो ।

बढीमा एक महीनाभित्रमा शुरु गर्ने गरी काम अगाडि बढेको र सरकारले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । स्थानीय तह, व्यवसायी कम्पनी, फार्म वा निजी उद्यमीसमेत साझेदार बन्न पाउने फराकिलो व्यवस्थासहित मन्त्रालयले प्रस्ताव आह्वान गरेको निमित्त सचिव गदालको भनाइ छ ।

उहाँका अनुसार प्रस्तावकले प्रस्ताव पेश गर्दा मन्त्रालयद्वारा जारी पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ अनुसार बधशाला स्थापना र सञ्चालन गर्न सम्बन्धित भेटेनरी, अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र र स्थानीय तहको सिफारिस, कार्यविधिअनुसारको प्रस्तावको ढाँचा, बधशालाको संक्षिप्त व्यावसायिक कार्ययोजना, लागत साझेदारी गर्ने प्रतिबद्धतापत्र, बधशाला निर्माणस्थलको जग्गाको स्वामित्व देखिने प्रमाणपत्र पेश गर्नुपर्ने छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !