७ बैशाख २०८१, शुक्रबार

सिलवालको ‘नेपाली सङ्घीयतामा समाचार समिति’


Nepalpatra

८ फागुन, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार प्रकाश सिलवालद्वारा लिखित ‘नेपाली सङ्घीयतामा समाचार समिति’ पुस्तक सार्वजनिक गरिएको छ ।

बिएन पुस्तक संसारबाट प्रकाशित पुस्तकमा राससको इतिहासदेखि वर्तमान र सङ्घीय संरचनाको खाकासम्मका गतिविधिलाई केलाइएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि रासस पनि सङ्घीय संरचना र सेवामा कसरी जानुपर्छ भन्ने पुस्तकमा उल्लेख छ । राससलाई सङ्घीय संरचनामा लैजान मार्गदर्शन गर्ने पुस्तकमा प्रदेश र स्थानीय सरकारसँगको सम्बन्धको बारेमा उल्लेख गरिएको छ ।

सातवटै प्रदेशस्तरमा कार्यालय स्थापना भइसकेको अवस्थामा प्रदेश कार्यालयबाट नै राससको समाचार सम्प्रेषण गर्ने योजना र त्यसबारे स्थलगत भ्रमणमा पाइएका सुझावबारे पुस्तकमा उल्लेख छ । राससको ५८औँ वार्षिकत्सवकको अवसरमा मङ्गलबार रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा सो पुस्तकको विमोचन गरिएको थियो ।

पुस्तकमा नेपालको वर्तमान सञ्चार स्थिति र समाचार समिति, नेपालमा सङ्घीयता र सञ्चार, राससबिना सञ्चारमाध्यम सञ्चालन कति सम्भव, राससको प्रादेशिक संरचना र सेवा, रासस प्रदेश सेवा किन आवश्यकजस्ता कुरा समेटिएको छ । यसैगरी पुस्तकमा राससको प्रस्तावित प्रदेश सेवा, प्रदेश संरचनाका लागि राससको चुुनौतीबारेमा समेत उल्लेख गरिएको छ । राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले सङ्घीय संरचनामा राससको भूमिकाबारे लेखकले पुस्तकमा उतारेकाले यो सञ्चार क्षेत्रका लागि स्रोत सामग्री हुनसक्ने उल्लेख गर्नुभएको छ ।

उहाँले लेखकले सातवटै प्रदेशबाट राससको समाचार सम्प्रेषण गर्नेबारेमा केन्द्रीय कार्यालयले गरेको स्थलगत भ्रमणका कुरालाई समेत उल्लेख गरेर राससलाई चाँडै प्रदेशबाट समाचार सम्प्रेषण गर्न पुस्तकले घच्घचाउन सहयोग गरेको बताउनुभयो । पाँच खण्डमा लेखिएको पुस्तकमा राससको इतिहासदेखि प्रादेशिक संरचनामा जाने कुरा उल्लेख गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !