७ बैशाख २०८१, शुक्रबार

प्याराग्लाइडिङको सफल परीक्षण


Nepalpatra

५ फागुन, पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा रहेको गेप्ताङ सामुदायिक घरबास (होमस्टे)ले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आउनुभएका विवेक राना र गोले लामाको नेतृत्वमा विपीन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाउनुभएको हो ।

परीक्षण उडानपछि विपीन परियारले लुम्राङ र देउरालीडाँडा प्याराग्लाइडिङ उडान गर्नका लागि र रानीपानीमा रहेको इमिचौर अवतरण गर्नका लागि उत्तम स्थान रहेको बताउनुभयो ।

आवश्यक पूर्वाधार सडक, धावनमार्गको व्यवस्थित विकास गर्न सकेमा व्यावसायिक रूपमा यस स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने चालक रमेश नेपालीले बताउनुभयो । प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले बताउनुभयो ।

सफल उडानअघि धावनमार्ग र अवतरणस्थलका बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो ।

सुन ठगी गर्ने दुई भारतीय पक्राउ

पर्वतको फलेवास नगरपालिका–९ भङ्गरामा सुन ठगी गर्दैै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीयवासीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई शनिबार प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा भारत घर बताउने शिवारी साह र उनका साथी असर्फी शाह रहेका छन् । उनीहरुले सुन सफा गरिदिने भन्दै स्थानीय तेजप्रसाद पौडेल क्षेत्रीको श्रीमतीको कानको रिङबाट केही सुन लुकाएको पौडेलले जानकारी दिनुभयो ।

उनीहरुलाई स्थानीय शिक्षक शिवप्रसाद पौडेलको सक्रियतामा खोजी गर्दै जाँदा फलेवास नगरपालिका–८ लिमीठानाको नेपाने भन्ने स्थानमा फेला पारिएको र प्रहरी बोलाएर जिम्मा लगाइएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !