१२ बैशाख २०८१, बुधबार

एउटै चाहना : अपेक्षीलाई खाना, नाना र छाना


तापक्रम

२४ माघ, काठमाडौँ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको काठमाडौँ उपत्यकालार्ई मानवीय मूल्य मान्यतायुक्त मानिसको बासस्थल बनाउने प्रयास थालिएको छ ।

सहाराविहीनलाई सहारा, छहारी नभएकालाई ओत र भोकालाई भोजनको व्यवस्था गर्ने मानवीय प्रयासमा स्थानीय अगुवादेखि, विभिन्न सङ्घसंस्था, सरकारी तथा जनप्रतिनिधि जुटेका छन् । भिक्षा पात्र लिएर सहयोगका निम्ति हात फैलाउनेदेखि ओत नपाएर सडकमा पुगेकालाई व्यवस्थापन गरी असहाय र सहयोगापेक्षीलाई उदात्तभावले सघाउँदै उपत्यकाको सौन्दर्य बढाउनु उनीहरूको मुख्य प्राथमिकताको विषय बन्न पुगेको छ । कमाउने हिसाबले माग्न बसेकालाई निरुत्साहित गरी वास्तविक पीडितलाई संरक्षण गर्नु अहिलेको चुनौती हो ।

उपत्यकामा मानवसेवा आश्रमले पाँच वर्षअघि सडकबाट सहयोगापेक्षी उठाउने अभियान चलाएपछि सहयोगापेक्षी सडकमानवमुक्त शहर निर्माण गर्न उपत्यकाका स्थानीय तहको थप अग्रसरता बढेको हो । सहयोगापेक्षीलाई खाना, नाना र छाना उपलब्ध गराउने सबैको एउटा चाहना हो । सहकार्य भयो भने साँच्चै मानवीयताको शहर निर्माण गर्न सम्भव भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ ।

ललितपुरका प्रजिअ प्रेमराज जोशीले मानवीयताको शहरका रूपमा ललितपुरलाई विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै मानवसेवा आश्रमलगायत विभिन्न सङ्घसंस्थाले सरकारले गर्नुपर्ने काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । “शुरुमै सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी छ, त्यसपछि सडकमा स्वतः मान्छे घट्छन् र उद्धार तथा संरक्षण गर्न सहज हुन्छ, हाम्रो दायित्वभित्रको काममा सहयोगको कमी हुन्न,” जोशीले भन्नुभयो । ललितपुरमा मानवसेवा आश्रमले २०७३ सालदेखि सडकमा रहेका बेवारिसे, अशक्त, मनोरोगी, मागेरसमेत खान नसक्ने व्यक्तिहरूलाई उद्धार गरी परिवारको पहिचान गराएर पुनःस्थापित गर्ने काम थालेको थियो ।

आश्रमका ललितपुर संयोजक धर्मप्रसाद पौडेलका अनुसार हालसम्म २२५ जनाको सडकबाट उद्धार गरिएको छ । महानगरपालिका प्रमुख महर्जनले जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त शहरका रूपमा विकास गर्न आतुर रहेको बताउनुभयो । “ललितपुर मात्रै होइन उपत्यकालाई मानवीयताको शहर बनाउनुपर्छ, उपत्यकाका १६ नगरपालिका र दुई महानगरका मेयरको सञ्जाल छ, त्यहाँ कुरा राख्छु अब हामीले यस्ता कार्यक्रमलाई तीव्ररूपमा अगाडि बढाउनुपर्छ,” महर्जनले थप्नुभयो ।

सडकमा कष्टकर जीवन बिताउनेलाई संरक्षण दिनुभन्दा ठूलो धर्म अरू केही नभएकाले यसमा महानगर सहकार्य गर्न तयार रहेको प्रमुख महर्जनले विश्वास दिलाउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि कुनै पनि हालतमा सडकमा बेवारिसे अशक्त र मागेर खाने अवस्थाको अन्त्य गर्नुपर्छ भनेर लागिपरेको बताउनुभयो । यसका लागि प्रहरी, स्थानीय तह, पशुपति क्षेत्र विकास कोष र मानवसेवा आश्रमले अभियान नै चलाउँदै आएका छन् ।

विसं २०८२ सम्म सहयोगापेक्षी सडक मानवमुक्त देश निर्माण गर्न अभियानमा लागेको मानवसेवा आश्रमले देशका १२ जिल्लाको १४ शाखाबाट अहिलेसम्म एक हजार ७५० को उद्धार गरिसकेको र ५७७ जनालाई पारिवारिक मिलन गराएको तथा हाल ६५० जनाले सेवा लिइरहेको आश्रमका प्रवक्ता सुमन बर्ताैलाले बताउनुभयो ।

काठमाडौं जिल्ला प्रमुखसमेत रहनुभएका बर्ताैलाले स्थानीय तहको राम्रो साथ पाइरहेकाले अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । आश्रमको अध्ययनमा सडकमा एकथरी वास्तवमै पीडित भएका र अर्काथरी भने संस्थाले ल्याएर छाडिदिने, मागेर परिवार पाल्ने, दुव्र्यसनमा लाग्ने र मगेर व्यापार गर्ने खालका व्यक्तिहरू छन् ।

भक्तपुर नगरपालिका भने यो विषयमा केहीपछि रहे पनि सडकका बेवारिसेहरूको व्यवस्थापनको विषय अध्ययन र छलफलकै चरणमा रहेको जनाइएको छ । उपप्रमुख रजनी जोशीले एउटा निष्कर्ष निकालेर अघि बढ्ने योजना रहेको सुनाउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव तथा आध्यात्मिक चिन्तक डा गोविन्द टण्डनको भनाइमा यस्ता व्यक्तिहरू सडकमा करीब सात हजार जति रहेको अनुमान छ । “सबैको चाहना र अग्रसरता हुने हो भने एक वर्षभित्रै सडक मानवमुक्त शहर बनाउन सकिन्छ,” डा टण्डनले भन्नुभयो ।

प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक अपिलराज बोहरा ललितपुरमा सडक मानवको उद्धारमा प्रहरीको लामो सहयात्रा रहेको र पछिल्लो दुई महीनामा मात्रै २५ जनालाई उद्धार गरेर आश्रमलाई जिम्मा लगाएको अनुभव सुनाउनुभयो । काठमाडौँमा अघिल्लो महीनामा चलाएको रात्रि सेवा अभियानमा मात्रै ११० भन्दा बढीको उद्धार भएको प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले अनुभव सुनाउनुभयो ।

अशक्त तथा असहायलाई उपचार गर्न अस्पताल तयार भए पनि उनीहरूको रेखदेखका लागि समस्या हुँदै आएको पाटन अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत लीलाराज आचार्यको अनुभव छ । उहाँले मानवीयताको शहर बनउने विषयमा भने अस्पताल हातेमालो गर्न तयार रहेको बताउनुभयो । सडकमा भौँतारिएर हिँडिरहेकालाई संरक्षण दिएर परिवारमा मिलन गराउनु आफैँमा चुनौतीपूर्ण रहेकाको बताउँदै ललितपुरका स्थानीय आत्माराम कोइरालाले अपेक्षित र अनपेक्षित सडकमानवलाई दुई तरिकाले व्यवस्थापन गर्न जरुरी रहेकोे औँल्याउनुभयो । नेपालको संविधानले नै बाँच्न पाउने अधिकार प्रत्याभूति गरेकाले यसमा सरकारको अगुवाइ जरुरी रहेको यससँग काम गर्ने संस्थाका प्रतिनिधिहरूको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !