१३ आश्विन २०८१, आइतबार

नेपालगञ्जमा सीमान्तकृत चिडिमारका व्यथा


nepalguj

१७ माघ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन ।

नेपालगञ्जमा चिडिमारलाई चरा मार्ने जाति भनेर चिनिन्छ । यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्ज–१२ चिडिमार समुदायको पुरानो थातथलो हो । पछिल्लो समय चिडिमार समुदायका व्यक्ति पनि चरा मार्न छाडेर अरु पेशा व्यवसाय गरेर जीविकोपार्जन गर्न थालेका छन् ।

चिडिमार भनेर चिनिए पनि अहिले त्यो समुदायका व्यक्तिले केही न केही व्यवसाय गरिरहेका छन् । अर्काको मजदूरी गरेर होस् वा ससानो व्यापार गरेर आफ्नो घर खर्च चलाइरहेका छन् । आफ्नो बारीको अन्नले मात्र खान नपुग्ने हुँदा उनीहरूले मजदूरी गरेर खान लाउन र बालबालिकाको अध्ययन खर्च पु¥याउने गर्दछन् ।

चिडिमार समुदायको मुख्य समस्याका रूपमा बालविवाह पनि रहेको छ तर अहिले बालविवाह रोक्न वडा कार्यालयबाट केही सार्थक प्रयास पनि थालिएको छ । “बाल विवाह रोक्न हामीले जनचेतना, बालबालिकालाई विद्यालय भर्ना गराउने, अभिभावकसँग अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम गर्दै आएका छौँ”, वडाध्यक्ष विद्यासागर सुवेदीले भन्नुभयो ।

केही समयअघि वडा कार्यालयले चिडिमार समुदायका दुई बालबालिकालाई विद्यालय र कलेजस्तरीय शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराएको अध्यक्ष सुवेदीले बताउनुभयो । यसका साथै सो समुदायको घरमा खानेपानीको धारा जडान, बालबालिकालाई श्रमबाट विस्थापित गरी विद्यालय भर्ना गराउन अभिभावकलाई खुद्रा पसल सञ्चालनका लागि पनि वडा कार्यालयको समन्वयमा विभिन्न संस्थाले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।

यो समुदायका महिला घरको काम गर्छन् भने पुरुषले दिनभर अरुको मजदूरी र व्यापार व्यवसाय गर्दछन् । चिडिमार समुदाय शिक्षाको पहुँचबाट धेरै पछाडि छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायको प्रयास र प्रयत्नबाट अहिले यो समुदायका बालबालिकालाई विद्यालय पठाउन थालिएको छ । त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ । आमाबाबु नभएकालाई शिक्षाको पहुँचसम्म पु¥याउने काम स्थानीय सरकारले गरेको छ । उपमहानगरपालिका–१२ कार्यालयले चिडिमार समुदायका बालबालिकाका लागि शिक्षा विकास कार्यक्रम नै योजनामा पारेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

चिडिमार समुदायमा बच्चा धेरै जन्माउने गरेको पाइन्छ जसका कारण महिलाको स्वास्थ्य अवस्था सधँै कमजोर र दयनीय हुने गरेको छ । अत्यन्त कमजोर घर संरचनामा बसोबास गर्दै आएका यो समुदायका बालबालिका पढ्न चाहन्छन्, तर पारिवारिक वातावरण उनीहरूको हितमा नहुने भएकाले उनीहरूको चाहना पूरा हुन सकेको छैन । “हामी विद्यालय जान चाहन्छौँ, तर आमाबुबाले पैसा कमाउनु पर्छ भनेर काममा पठाउने गर्छन्”, समुदायकी किशोरी खुशी चिडिमारको गुनासो छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !