१३ बैशाख २०८१, बिहिबार

रानीपोखरी पुनर्निर्माणमा तीव्र विवाद, पुरातत्वविद् र स्थानीय संघसंस्थाद्वारा विरोध


Rani-pokhari

काठमाडौं, १२ भदौ – ऐतिहासिक रानीपोखरी पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले लापरवाही गरेको भन्दै स्थानीय संघसंस्था र पुरातत्वविद्हरूले विरोध जनाएका छन् ।

पुनर्निर्माणप्रति असन्तुष्ट स्थानीय र पुरातत्वविद्हरूले गएको बुधवार काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय सम्पदाका रूपमा रहेको रानीपोखरी निर्माणमा सिमेन्ट र डण्डी प्रयोग गरेर पोखरीको मौलिकता बिगारेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

भूकम्पले रानीपोखरीमा क्षति पुग्नुका साथै पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर ढलेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माणको शुरुवात यसै रानीपोखरीबाट गर्नुभएको थियो ।

रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दा महानगरले आरसिसी गरेर सिमेन्ट र डण्डीबाट पिलर ठड्याएको छ भने पोखरीको वरिपरि सिमेन्ट र कंक्रिटको प्रयोग गरी पर्खाल निर्माण गरिँदैछ ।
Rani-pokhari

‘रानीपोखरी पुनर्निर्माण शुरु गर्दा जस्ता बारेको र निर्माणमा सिमेन्ट र डण्डीको प्रयोग गरेर पिलर उठाएको देखें,’ स्थानीय आलोकश्री तुलाधरले भने । यसले रानीपोखरीको मौलिकता हराउने भन्दै आफूहरू विरोधमा उत्रेको उनले बताए ।

तुलाधरका अनुसार, रानीपोखरी निर्माण गर्दा पहिला ईँटा, काठ, बज्र, सुर्की र स्थानीय सामग्रीको प्रयोग गरिएको थियो । तर अहिले नगरपालिकाले सिमेन्ट, कंक्रिट र डण्डीको प्रयोग गरेर पिलर उठाएको छ ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले भने – ‘रानीपोखरीको आकार नै बिगार्ने गरी पोखरीको वरिपरि सिमेन्ट र कंक्रिटको पर्खाल लगाउने काम भइरहेको छ । यसले प्राचीनकालमा निर्माण भएको पोखरीको संरचना नै बिगारेको छ ।’

पहिला कालो माटो, पाङ्गो माटोको प्रयोग गरी पर्खाल बनाइएको थियो । यसले जाडो र गर्मीको मौसममा पनि पानीको प्रवाह र तापक्रमलाई सन्तुलन राख्ने काम गथ्र्यो । ‘तर अहिले सिमेन्ट र कंक्रिटको प्रयोग गर्दा पर्खालले पोखरीको पानीको मुहान सुकाउने खतरा उत्पन्न भएको छ,’ कार्कीले भने ।

सिमेन्टको आयु पनि साठी वर्षभन्दा बढी हुँदैन । सिमेन्टले बनाउँदा मात्रै बलियो हुने सोच राख्नु गलत भएको उनको भनाइ छ । ‘लहडबाजीको रूपमा सम्पदा निर्माण गर्नुभन्दा मौलिकतामा जोड दिनुपर्छ,’ उनले भने । रानीपोखरी पुनर्निर्माणमा सिमेन्ट र डण्डी प्रयोग गरेर सम्पदा ऐनको विपरीत जाने अधिकार कसैलाई नभएको भन्दै पुनः संरचनाको नाममा पुरातात्विक सम्पदालाई बिगार्न नहुने उनले बताए ।

Rani-pokhari

सम्पदा ऐन २०१३ मा पनि पुरातात्विक महत्वका सय वर्षभन्दा पुरानो सम्पदा पुनर्निर्माण गर्दा पहिलेकै स्वरूपमा ल्याउनुपर्ने र संरचना बिगारेर निर्माण गरेमा पाँच हजार जरिवाना तथा एक वर्ष कैद हुने व्यवस्था छ । पुरातत्वविद् डा.सुदर्शन तिवारीले परम्परागत सामग्रीहरूको प्रयोग गरेर नै बलियो संरचना बनाउन सकिनेमा सिमेन्ट र डण्डी प्रयोग गरेर पोखरीको मौलिक संरचना बिगार्न नहुने बताए ।

पुरातात्विक संरचनाहरूमा भुइँचालोले निकै क्षति पुग्ने ठाउँमा आरसिसी प्रयोग गर्न मिलेपनि रानीपोखरी क्षेत्रमा भने सिमेन्ट र डण्डीको प्रयोग गर्नु गलत भएको उनको भनाइ छ । रानीपोखरीको विभिन्न कालखण्डमा पुनर्निर्माण भएको छ । २०३५ सालमा जीर्णोद्धारका क्रममा सिमेन्ट प्रयोग गरेतापनि अहिले त्यो गल्ती दोहो–याउन नहुने डा.तिवारीको भनाइ छ ।

‘ईट्टा र बज्रको प्रयोग गरेर पनि संरचनालाई मजबुत र मौलिक बनाउन सकिने उनले बताए । पश्चिमी पुरातत्व संरक्षण सिद्धान्त अनुसार सम्पदाको पुनर्निर्माण गर्दा जुन जुन सामान फेरि परिवर्तन गर्न सकिन्छ त्यस्ता सामान मात्र प्रयोग गर्नुपर्ने मान्यता छ,’ डा. तिवारीले भने ।

डा. तिवारीले पुरातात्विक महत्वका धरोहर निर्माण मौलिक शैलीमा गर्न नसक्दा अन्तर्राष्ट्रिय रूपमा नराम्रो सन्देश जानसक्ने बताए । इतिहासका विभिन्न कालखण्डमा सम्पदा पुनर्निर्माणका क्रममा देखिएका कमी कमजोरीलाई अनुसन्धान गरेर परिमार्जन गर्दै पुरानो र मौलिक शैलीमा ल्याउन सकिने उनले बताए ।

‘रानीपोखरीमा पानी जम्ने तहसम्म रिटेनिङ पर्खाल बनाएर तल्लोभाग सिल गर्न सकिन्छ,’ डा.तिवारीले भने, ‘२०३५ सालमा जहाँजहाँ सिमेन्ट प्रयोग गरिएको छ, त्यहाँ इँट र बज्र प्रयोग सकिन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !