१३ बैशाख २०८१, बिहिबार

राजकीय विहारको जिम्मा स्थानीयवासीलाई दिन माग


Nepalpatra

११ माघ, रुपन्देही । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र नेपाल सरकारले निर्माण गरेको राजकीय बुद्ध विहारको व्यवस्थापन र सञ्चालनको जिम्मा स्थानीयवासीलाई दिन लुम्बिानीवासीले माग गरेका छन् ।

विक्रम संवत् २०१२ मा निर्माण भएको सो बिहार धर्मोदय उपसमितिका नाममा एउटै समुदायका व्यक्तिले वर्षौँसम्म कब्जामा लिएर ध्वस्त बनाएको आरोप स्थानीयवासीको छ । उपसमितिले विहार सञ्चालनका लागि भन्दै राखिएको दानपेिटकाको रकम विहारको मर्मतसम्भारमा खर्च नगरेर काठमाडौँस्थित धर्मोदयसभालाई पठाउने गरेको, विहारका गतिविधिमा स्थानीयवासी मधेसी समुदायका व्यक्तिलाई सहभागी नगराउन विहारका संरक्षक भिक्षु सागर धम्मलाई दबाब दिएको, बुद्धजयन्तीका दिन श्रद्धालुबाट दान उठाएर उपसमितिका पदाधिकारीले भाग लाउने गरेकोजस्ता आरोप स्थानीयवासीले लगाएका छन् ।

विहारका संरक्षक भिक्षु धम्मले स्थानीयवासीको सहकार्यमा विहारभित्र विभिन्न सिर्जनशील र आध्यात्मिक गतिविधि बढाएकाले उपसमितिका पदाधिकारीले उहाँलाई संरक्षकबाट हटाउन खोजेको आरोप लगाउँदै त्यसो गरे प्रतिकार गर्ने स्थानीयवासीले आज यहाँ आयोजित भेलामा चेतावनी समेत दिएका छन् ।

उपसमितिका सदस्यले स्थानीयवासीलाई विहारभित्रका गतिविधिमा सहभागी नगराउन पटक÷पटक दबाब दिएको भिक्षु सागर धम्मले स्वीकार गर्नुभयो । बौद्ध महिला समितिका सचिव कल्पना हरिजनले विहारभित्र राखिएका दानपात्रबाट उठेको रकम धर्मोदयसभा नामक संस्थालाई पठाउने, बुद्धजयन्तीका दिन लुम्बिनी आउने र दर्शनार्थीले चढाएको भेटी लिएर फर्किने बाहेक उक्त उपसमितिको सहभागिता कतै नदेखिएको बताउनुभयो ।

एक वर्षअघिसम्म बिहारको अवस्था जीर्ण थियो । अहिले बौद्ध महिला समिति र बौद्ध युवासमिति गठन भएपछि बिहारको स्वरुप फेरिएको छ । उहाँले भन्नुभयो, “हामीले निरन्तर बिहारको रेखदेख गरेका छौ” पाहुना आउँदा विहारका प्रतिनिधिजस्तै बनेर स्वागत सत्कार गर्ने गरेका छौं ।”

बिहार सञ्चालनको जिम्मा स्थानीयवासीलाई दिन माग गर्दै बौद्ध महिला समिति र बौद्ध युवा सङ्घले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

उक्त उपसमितिका उपाध्यक्ष सुवर्णमुनि शाक्यले यस विषयमा लुम्बीनी विकास कोषले पहल गर्नुपर्ने बताउनुभयो ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले धर्मोदय उपसमितिले दिएको उजुरीबारे छलफल गरी निकास निकाल्न कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !