१३ बैशाख २०८१, बिहिबार

दुर्गम गाउँमा आयुर्वेदिक क्लिनिक


Nepalpatra

६ माघ, बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गाउँघर आयुर्वेदिक क्लिनिक शुरु गरेको छ । आयुर्वेदिक औषधालयको पहुँच नपुगेको जैमिनी–९ पैञ्युथन्थापमा गाउँघर क्लिनिक शुरु गरिएको हो ।

शनिबार पहिलो पटक सञ्चालन गरिएको क्लिनिकमा एक सय बिरामीले सेवा लिएका छन् । क्लिनिकमा आउने बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । प्रत्येक महिना ५ गते सञ्चालन हुने गरी गाउँघर क्लिनिक शुरु भएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

जैमिनी–२ मा रहेको दमेक आयुर्वेद औषधालयले क्लिनिकमा प्राविधिक सहयोग गर्नेछ । क्लिनिकमा उपचारका लागि आउने बिरामीका निम्ति औषधि र अन्य व्यवस्थापन खर्च नगरपालिकाले गर्ने गरी व्यवस्था मिलाइएको छ । “आयुर्वेदिक पद्धतिबाट पनि कैयौँैं रोगको उपचार गर्न सकिँदो रहेछ”, नगर उपप्रमुख लीला रानाले भन्नुभयो, “विनासाइडइफेक्ट काम गर्ने औषधि भएकाले सर्वसाधारणको माग आयुर्वेदिक औषधिमा रहेको मैले भेटाएँ ।”

कृषि क्याम्पसको तयारी

बागलुङ नगरपालिकाले कृषि प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीको चाहना पूरा गर्ने गरी क्याम्पस खोल्ने तयारी गरेको छ । नगरपालिकाले प्रारम्भिक भौतिक पूर्वाधारमा लगानी गरेर वार्षिक ५० विद्यार्थीलाई कृषि विषयको स्नातक तह अध्यापन गराउने तयारी गरेको हो । नगरपालिकाभित्रकै एक गुठीले २० रोपनी जमीन नगरपालिकालाई दिने निर्णय गरेपछि पहिलो चरणमा उक्त स्थानमै पूर्वाधार बनाएर क्याम्पस सञ्चालन गर्ने योजनासहित अध्ययन थालिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

कृषि विज्ञान विषयमा अध्ययनअध्यापन गराउने गरी कलेज सञ्चालन गर्नका लागि पोखरा विश्वविद्यालयसमेत सकारात्मक भइसकेको छ । “नगरपालिकाले कलेज सञ्चालनको आशय दिएपछि विश्वविद्यालयले पनि चासो दिएको हो”,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक निर्मल सापकोटाले भन्नुभयो, “लगानीको चरणमा नगरपालिकाले बढी पारदर्शिता देखायो भने यो कलेजले पाँचाँै वर्षदेखि नगरपालिकाकै शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्नेछ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !