७ बैशाख २०८१, शुक्रबार

गरीब जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण दिइने


Nepalpatra

६ माघ, भादगाउँ । भक्तपुर नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ ।

नगरपालिकाले स्थायी बसोवास गर्ने गरीब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ । निर्देशिकाअनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई ध्यानमा राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नगरप्रमुख सुनिल प्रजापतिले सो निर्देशिका अनुसार नगरका गरीब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।”

निर्देशिका पारित गर्नुअघि नगरसभामा सदस्य जीतेन्द्र मुनकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पूर्णगोपाल राजचल, श्यामसुन्दर माता, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौंदेखि नगरमा बसोवास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेेलगायतका सुझाव दिनुभएको थियो ।

त्यसैगरी भक्तपुर नगरपालिकाको चौंथो नगरसभाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ । अपाङ्गता भएका नगरवासीलाई सहज ढङ्गले परिचयपत्र वितरण गर्ने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको विधायन समितिका सयोजक सुवालले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !