७ बैशाख २०८१, शुक्रबार

चुरे संरक्षण कार्यक्रम प्रभावकारी नहुँदा चिन्ता


Rambaran Yadav

२७ पुस, घोराही । पूर्वराष्ट्रपति डा. रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा डा. यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

‘दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ चार/पाँच वटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, “यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त ?”

डा. यादवले आफ्नो पालामा शुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । चुरे क्षेत्रको जङ्गल मासिनु तथा ढुङ्गा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जलसम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार– व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो रहन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

पछिल्लो समयमा विकासको नाममा जथाभावी डोजर लगाइनुले पनि वातावरण विनाश भइरहेको छ भन्दै उहाँले वातवरणमैत्री विकासको आवश्यकता रहेको धारणा राख्नुभयो । यसमा नेपालका तीनै तहका सरकार, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मी सबैको साथ र सहयोगको आवश्यकता उहाँले औँल्याउनुभयो ।

अर्काे प्रसङ्गमा डा. यादवले भन्नुभयो, “मेरो प्रमुख चाहना संविधान लागू होस्, सुशासन कायम रहोस्, स्वच्छ वातावरण होस्, देशको विकास तीव्र भएको देख्न पाइयोस् भन्ने नै छ ।”

सो अवसरमा सङ्घका सभापति नारायण भुसालले ५ नं प्रदेशका सबै जिल्लाको बीचमा परेको र हावापानी राम्रो भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !