७ बैशाख २०८१, शुक्रबार

चालकमा उच्च रक्तचापको समस्या


स्वास्थ्य

२३ पुस, लमही । दाङमा सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । जिल्लाको तुलसीपुर– ३ राम्रीमा २३ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनापश्चात प्रहरीले थालेको सचेतना अभियानअन्तर्गत तुलसीपुरमा भएको चालकको स्वास्थ्य जाँचका क्रममा यस्तो समस्या देखिएको हो ।

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–४ गोठीखोलामा गरिएको स्वास्थ्य परीक्षणको प्रतिवेदनअनुसार ३६ चालकमा उच्च रक्तचापको समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसीले बताउनुभयो । “चालकमा उच्च रक्तचाप देखिएको छ”, उहाँले भन्नुभयो, “चालकमा उच्च रक्तचाप देखिँदा उनीहरू आत्तिने र तीव्र गतिमा सवारी चलाउने गर्छन्, यसरी तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम बढ्छ ।”

ती चालकको प्रतिक्रिया बुझ्दा दिउँसो र साँझ नियमित मादकपदार्थ सेवन गर्ने गरेको स्वाथ्यकर्मी माया घर्तीले बताउनुभयो । “हामीले उच्च रक्तचाप हुनेसँग साँझ बिहान मादकपदार्थ सेवन गर्नुहुन्छ ? भनी सोधेका थियौं”, उहाँले भन्नुभयो, “उहाँहरूले साँझ र दिउँसो नियमित मादकपदार्थ सेवन गर्ने र नियमित मासु खाने गरेको प्रतिक्रिया दिनुभएको थियो ।” नियमित मादकपदार्थ सेवन र मासु खाँदा उच्च रक्तचाप बढ्ने उहाँको भनाइ थियो । साथै सवारी चलाउँदा आत्तिने कारणले पनि उच्च रक्तचाप बढेको हुनसक्ने उहाँले बताउनुभयो ।

साथै स्वास्थ्य परीक्षणका क्रममा तीनजनामा कम रक्तचाप भएको पाइएको ट्राफिक प्रमुख केसीले बताउनुभयो । त्यस्तै सात जनाको आँखामा रङ थाहा नहुने समस्या देखिएको थियो । यसले पनि दुर्घटना बढाउने उहाँको भनाइ छ । एकसय ६० चालकमा गरिएको स्वास्थ्य परीक्षणमध्ये १४ जनामा चस्मा प्रयोग गर्नुपर्ने अवस्था देखापरेको छ । राम्री दुर्घटनापछि पछिल्लो समय प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियानलाई तीव्रता दिएको छ ।

यसअघि यसरी स्वास्थ्य परीक्षण नगरेको तुलसीपुरका अटो रिक्सा चालक मोहनलाल बोहराले बताउनुभयो । “यसअघि हामीले यसरी स्वास्थ्य परीक्षण गरेका थिएनौँ”, उहाँले भन्नुभयो, “तर सवारी चलाउने व्यक्तिले समय समयमा यसरी नै सवारी जाँच गराउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।”

आइतबार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–४ गोठीखोलामा चालकलाई निःशुल्करूपमा रक्तचाप र आँखा जाँच गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडा नं–४ समितिको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको संयोजनमा उक्त शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य चेकजाँचमा राप्ती अञ्चल अस्पताल तुलसीपुर र राप्ती आँखा अस्पताललगायतले सहयोग गरेका थिए । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शिविर सञ्चालन भएको हो ।

त्यस अवसरमा प्रदेश नं–५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीले सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो अभियानलाई तीव्रता दिइएको बताउनुभयो । साथै सबै चालकले नियमित स्वास्थ्य चेकजाँच गराउनुपर्ने उहाँको भनाइ छ । “पछिल्लो समय दाङमा ठूलाठूला सडक दुर्घटना भइरहेका छन्”, उहाँले भन्नुभयो, “यसैले हामीले सचेतना अभियानलाई निरन्तरता दिएका छौं ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !