७ बैशाख २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको वितरण सहज गर्न प्रधानमन्त्रीको निर्देशन, निगम भन्छ- ‘मंगलबारदेखि सहज’


प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्।

आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभाव तत्काल समाधान गर्न उनले निर्देशन दिएका हुन्। ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ। पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस्,’ उनले टेलिफोनमा भनेका थिए।

प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न र पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य वस्तुको सहज आपूर्ति नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण समेत गराएको स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए।

जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन सार्वजनिक बिदाका कारण उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएकाले बजारमा अभाव हुन नदिने विश्वास दिलाएका थिए।

मंगलबारदेखि सहज : निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको जनाउँदै मङ्गलबारदेखि नै पम्पमा देखिएको लाइन हट्ने जनाएको छ। इन्धन अभाव हुनुपर्ने कुनै कारण नभएको निगमको भनाइ छ। पेट्रोलियम पदार्थ पाइँदैन कि भन्ने मनोविज्ञानका कारण उपभोक्ताले अनावश्यक भण्डारण गरेकाले पम्पमा लाइन देखिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए।

उनका अनुसार उपत्यकामा दैनिक चार लाख लिटर आवश्यक पर्नेमा केही दिनयता छ लाख लिटरभन्दा बढी पेट्रोलियम पदार्थ बिक्री गरिएको छ। निर्देशक साहका अनुसार शुक्रबार, आइतबार र सोमबार आवश्यकताभन्दा बढी मात्रामा इन्धन बजारमा पठाइएकाले मङ्गलबारदेखि लाइन हट्नेछ। शनिबार इन्धन बिक्री नगरिएकाले उपभोक्ताले अभाव हुने आशङ्काले भण्डारण गरेको निगमले अनुमान गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !