८ बैशाख २०८१, शनिबार

राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ: मुख्यमन्त्री राई


sherdhann

८ पुस, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

विकास र समृद्धिमा प्रत्यक्ष पहुँच बढाउन राष्ट्रिय परिचयपत्रले मद्दत गर्ने प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राईले मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न परिचयपत्रले थप बल प्रदान गर्ने बताउनुभयो । प्रविधिको उच्चतम प्रयोग र डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत हुने विश्वास व्यक्त गर्दै उहाँले यो अभियानमा जुटेका निकायले समयमै आफ्ना काम पूरा गर्न निर्देशन पनि दिनुभयो ।

प्रदेश नं १ का मुख्यसचिव केदार न्यौपानेले सरकारले लिएको लक्ष्य पूरा गर्न परिचयपत्र वितरणमा खटिने कर्मचारीले अहोरात्र काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्ले र मोरङका प्रजिअ रमेशकुमार केसीले यस किसिमको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृत्तिका मानिसलाई कठिनाइ हुने धारणा राख्नुभयो ।

नेपाल सरकारले आव २०६६÷६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यअनुरुप आव २०७४÷७५ मा पूर्वी नेपालको पाँचथरमा एक लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । चालू आवमा प्रदेश नं १ अन्तर्गत झापामा चार लाख ८९ हजार १३४ र सङ्खुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय परिचयपत्रको व्यवस्थापनबाट सूचना प्रणालीमा सहज हुने, गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्न सकिने, सेवामा पारदर्शी हुने, सबै प्रकारका सेवामा नागरिकको पहुँच पुग्ने र राष्ट्रिय तथ्याङ्कको अध्यावधिक हुनेजस्ता फाइदा राज्यलाई पुग्ने महानिर्देशक काफ्ले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !