१३ बैशाख २०८१, बिहिबार

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम


nepal-police

६ पुस, काठमाडौँ । नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियानलाई कार्यान्वयन गर्न उक्त समिति गठन गरेको हो ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मासाथ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सक्रियतामा कात्तिक ११ देखि शुरु भएको अभियानको कार्यान्वयनका लागि जिल्ला, पालिका, वडा, टोल र विद्यालय समिति गठन गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६८ जिल्ला समिति, ६३६ पालिका समिति, दुई हजार १३२ वडा समिति, ७०५ टोल समिति र एक हजार ८५६ विद्यालय समिति गठन भइसकेका छन् ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी समिति गठनको कार्यले तीव्रता पाएको बताउनुहुन्छ । “अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्न उक्त समितिले महत्वपूर्ण भूमिका खेल्नेछ,”उहाँ भन्नुहुन्छ ।

विकास र सुरक्षाको अन्तनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास प्रहरीले लिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न समेत यो अभियानले सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले अभियानलाई तीव्रताका लागि सञ्चालन गर्न विभिन्न चरणमा १० हजार ५६ जना प्रहरी कर्मचारीलाई प्रशिक्षक, प्रशिक्षण, अभिमुखीकरण तालीम प्रदान गरिसकेको छ ।

देशभरका ७५३ वटै स्थानीय तहमा कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि सारिएको अभियानमा हालसम्म ७४५ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

अभियान सञ्चालन गरेसँगै प्रहरीले फरार अभियुक्तको खोजी गर्नसमेत सहज भएको छ । तीन हजार ५७ जना फरार अभियुक्तमध्ये अभियानसँगै ७३२ फरार अभियुक्तलाई पक्राउ गरिसकेको छ । २० नाल हातहतियार, १५ राउण्ड गोली, २२५ किलो गाँजा, ५८ किलो चरेश, एक किलो हिरोइनसमेत बरामद गरेको छ ।

यसैगरी, १९ बिगाहामा गरिएको गाँजाखेती नष्ट, ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट समेत गरेको छ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सामुदायिक सुरक्षा पाठ्यक्रम विकास, जनचेतनामूलक सामग्रीको विकास र ‘डिजिटल रिसोर्स सेन्टर’को स्थापना समेत गरिसकेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकाको सबै स्थानीय तहसँग प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा हस्ताक्षर गरेर काम गरिरहेको बताउनुहुन्छ ।

“काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहसँग साझेदारी गरेर काम अगाडि बढाइसकेका छौँ,उहाँ भन्नुहुन्छ, “प्रहरीले ल्याएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान कार्यान्वयन भएमा समाजमा हुने अधिकाशं अपराधका घटनामा कमी आउने विश्वास नेपाल प्रहरीले लिएको छ । ” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !