८ बैशाख २०८१, शनिबार

स्वदेशमै व्यवसायमा रम्दै युवा


Nepalpatra

१ पुस, विदुर । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गर्नुभएका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आइप¥यो । स–साना भाइबहिनीको पनि पालनपोषण गर्नुपर्ने अर्को बाध्यता थियो । घरको कमजोर आर्थिक अवस्थाकै कारण स्वदेशमा मेला मजदूरीले परिवार पाल्ने धौ–धौ हुने देखेपछि ऋणधन गरेर अन्ततः उहाँ विदेश पलायन हुनुभयो । तर, राम्रो कमाउने अनि सुखसँग परिवार पाल्ने सपना बुनेर खाडी मुलुक छिर्नुभएका पनेरुले त्यहाँ ६ वर्षसम्म बस्दा पनि सोचेजस्तो कमाउन सक्नुभएन । बरु, गाउँमै फर्केर केही काम गर्ने अठोट उहाँको मनमा जाग्यो । ऋण लिएरै भए पनि व्यावसायिक कुखुरापालन गर्ने योजना बनाउनुभयो ।

एक वर्षअघि विदेशबाट फर्केर व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पाल्न शुरु गर्नुभयो । पाँचसय कुखुराबाट शुरु गरी व्यवसाय थाल्नुभएका पनेरु आफ्नो आम्दानीको स्रोत अहिले यही नै बनिसकेको बताउनुहुन्छ । आफ्नै घरछेउमा करीब दुई हजार कुखुरा अट्ने क्षमताको टहरो निर्माण गरी दैनिक त्यसैको स्याहारसुसारमा उहाँ व्यस्त रहनुहुन्छ । कुखुरापालन गर्न शुरुमा टहरा र चल्लाका लागि चार लाख रुपैयाँ ऋण खोजेर व्यवसाय थाल्नुभएका उहाँले एक समूहकै कुखुरा बेचेर ऋण चुक्ता गर्नुभयो । करीब ४५ देखि ५० दिनमा कुखुरा बेच्न लायक हुने र एक पटकमा एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने पनेरु बताउनुहुन्छ ।

पनेरु भन्नुहुन्छ – “पहिला विदेश जानुभन्दा बरु यही व्यवसाय गर्ने आँट त्यतिबेला आएन । शायद, यसरी पहिला नै गर्न सकेको भए मैले विदेशमा थोरै पैसा कमाउनका लागि धेरै कष्ट झेल्नु नपर्ने रहेछ ।” त्यसैले अहिले उहाँ आफ्नै ठाउँको महत्व र सम्भावना नचिनेर विदेश जान खोज्नेहरुलाई यही सुझाव र सल्लाह दिनुहुन्छ ।

पनेरुको जस्तै अर्थाभावका कारण विदेशमा पसिना र परिश्रम खर्चेर केही आर्जन गर्न नसकेका र स्वदेशमा मेहनत गरेपछि सफल बनेका धेरै युवकहरु नुवाकोटमा अहिले प्रशस्त भेटिन्छन् जो विदेशभन्दा आफ्नै माटोलाई चिन्न सकेमा समृद्ध र उज्यालो भविष्य नेपालमै रहेको सन्देश गर्वका साथ दिइरहेका मात्रै छैनन्, सफल व्यवसाय गरेर त्यसको पुष्टि नै गरिरहेका छन् ।

सफल युवाको सूचीमा म्यागङ गाउँपालिका वडा नं ६ वर्ष ३६ का भद्रसिंह तामाङको पनि नाम आउँछ । सात वर्ष खाडी मुलुकमा बस्दा पनि आफ्नो र परिवारको जीवनमा कुनै परिवर्तन आएको नदेखेपछि उहाँले गाउँमै फर्केर तीन वर्षदेखि व्यावसायिक तरकारी खेती शुरु गर्नुभयो । दश हजार रुपैयाँको लगानीमा एउटा टनेलबाट गोलभेँडा लगायतका तरकारी उत्पादन गर्न शुरु गर्नुभएका उहाँले अहिले ५ रोपनी क्षेत्रफलमा करीब १० वटा टनेल बनाएर आफ्नो खेतीलाई विस्तार गर्न सफल हुनुभएको छ । “विदेशमा तीन÷चार महिनामा कमाउने पैसा अहिले म यहीँ गाउँमै कमाउन सक्षम बनिसकेको छ,” विदेशमा पैसा कमाउनका लागि जान मरिहत्ते गर्ने अहिलेका युवालाई प्रेरणा दिँदै उहाँले भन्नुभयो – “त्यहाँ गएर अर्काको देशमा बगाउने पसिना यहीँ आफ्नै माटोमा सिँचित गर्ने हो भने कहीँ जानुपदैन कमाउनका लागि ।” परिवारसँगै बसेर काम गर्न पाउँदा उहाँ ज्यादै प्रफुल्ल हुनुहुन्छ । एउटा टनेलमा गरेको तरकारी खेतीबाट मात्रै उहाँले ५० हजार रुपैयाँसम्मको तरकारी उत्पादन गर्न सक्षम हुनुभएको छ ।

भद्रसिंहको जस्तै म्यागङ गाउँपालिका–६ सामरीकै पल्छिरिङ तामाङ पनि दुःख र कष्टको वैदेशिक रोजगारीको नियति भोगेर आफ्नै माटोमा मेहनत पछि सफल व्यवसायीको रुपमा दरिएका युवा हुनुहुन्छ । वैदेशिक रोजगारीका लागि चार वर्ष मलेशियामा मजदूरी गरेर पनि सन्तुष्ट बन्न नसकेपछि स्वदेश फर्किएर विगत ३ वर्षदेखि उहाँ गाउँमै कुखुरापालन गरी उदाहरणीय व्यावसायिक युवा बन्नुभएको छ । पाँच सय ब्रोइलर कुखुराबाट व्यवसाय शुरु गर्नुभएका पल्छिरिङले कुखुरा मात्रै नभएर अण्डासमेत उत्पादन गर्ने र दोहोर आम्दानी लिने योजनाकासाथ आफ्नो व्यवसायलाई फराकिलो बनाउनुभएको छ । अहिले दुई हजारसम्म लेस जातको कुखुरा पाल्नुभएको छ उहाँले । “विदेश गएर धेरै पैसा कमाइन्छ भनेर गएँ तर, मेहनत मात्रै खेर गयो,” उहाँले वैदेशिक रोजगारीमा बेहोरेको दुःख र अहिले गाउँमै व्यवसाय गरेपछिको सफलताको तुलना गर्दै भन्नुभयो – “मोती त हाम्रो स्वदेशी माटोमा रहेछ । दुःख त आखिर जहाँ गए पनि गर्नैपर्छ तर, विदेशको नारकीय जीवनभन्दा यहाँ आफ्नै ठाउँ स्वर्ग रहेछ ।’

सीमित लगानीबाट शुरु गरेको पल्छिरिङको व्यवसायमा अहिले ११ लाख रुपैयाँसम्मको लगानी थपिइसकिएको छ । कुखुराबाहेक अण्डा बिक्रीबाट मात्रै उहाँले एकदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !