१२ बैशाख २०८१, बुधबार

करोडौँको सम्पत्ति पहरामा अलपत्र


Nepalpatra

२६ मङ्सिर, गलेश्वर । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा सुन, हीराजस्ता महँगा धातुमा प्रयोग हुने कार्ज नामक पत्थरको खानी रहेको छ ।

सो खानी उत्खननका लागि स्थानीयवासीले सरकारसँग अनुमति मागे पनि झन्झटिलो कानूनी प्रक्रियाका कारण अनुमति नमिल्दा करोडौँ आम्दानी हुनसक्ने स्रोत त्यतिकै पहरामा खेर गइरहेको छ ।

घुर्म खोलाअन्तर्गत गुर्जा हिमालको फेदमा रहेको खानी आवश्यक प्राविधिक सहयोगमा उत्खनन गर्न स्थानीयवासीले गत वर्ष सरोकारावाला निकायलाई अनुरोध गरे पनि प्रक्रियाका बारेमा अलमलमा परेपछि उत्खननमा समस्या भएको गाउँपालिका–१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

“खानी सञ्चालनमा कानूनी प्रक्रियानै झन्झटिलो देखिन्छ, प्रदेश सरकारबाट कानूनलाई अगाडि बढाउन सकेमा उत्खनन गर्न सकिन्छ”, छन्त्यालले भन्नुभयोे । उहाँका अनुसार उत्खननका लागि म्याग्दीका प्रदेशसभा सदस्य तथा सामाजिक विकासमन्त्री नरदेवी पुनले समेत पहल गर्ने प्रतिबद्धता जनाए पनि कानूनको अभावमा समस्या भएको उहाँले जानकारी दिनुभयो । बजारमा अत्यधिक माग रहेको धातुमा प्रयोग हुने पत्थर उत्खनन गर्नसके स्थानीयवासीले रोजगारीका साथै स्थानीय सरकारको समेत आम्दानीमा सघाउ पुग्ने उहाँको भनाइ छ ।

गुर्जा गाउँबाट करीब एकदिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको छ । गाउँपालिकाको बजेटमा खानीको खोजीका साथै विभिन्न योजनाका बारेमा समेत छलफल भएको बताउँदै खानीस्थलमै सरोकारवाला निकाय र जनप्रतिनिधिसहितको टोलीलाई पु¥याउने लक्ष्य रहेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

बहुमूल्य हीराको खानी हुनसक्ने भन्दै एकदशक अगाडि खानी भएकै स्थानमा पुगेर अवलोकन गरी नमूनासमेत ल्याइएको थियो । खानीमा प्राचीनकालमा उत्खनन गरेजस्तो देखिन्छ । साँघुरो रहेको खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयवासीले घरेलु प्रविधिको प्रयोग गरेर निकाल्ने प्रयास गरे पनि सम्भव नभएपछि फर्किएका थिए । कार्ज नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो ।

गुर्जाका भिरमा कार्ज खानीमात्र होइन तामा, स्टेल, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा छन् । प्राचीनकालमा खानी भएकै क्षेत्रमा छन्त्याल, दलितलगायतका जातजाति बसोबास गर्ने जङ्गल अहिले बस्तीमा परिणत भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा तामा, ढुङ्गा, सिसा खानी रहेका छन् । कालीगण्डकी नदी बग्ने पहाडमा सुनखानी रहेको भन्दै स्थानीयवासीले वर्षाको समयमा सुन चाल्ने गरेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !