ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दैः वृद्धाश्रममा बस्नुपर्ने बाध्यता

२१ मङ्सिर, काठमाडौँ । ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ ।

ज्येष्ठ नागरिकका परिवार नहुनु, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण ज्येष्ठ नागरिक घरबार छाडी वृद्धाश्रममा बस्न बाध्य हुँदै गएको अध्ययनले देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘वृद्धाश्रम, कल्पवास, दिवा सेवा केन्द्र र स्याहार केन्द्रसम्बन्धी अध्ययन प्रतिवेदन–२०७५’ मा ज्येष्ठ नागरिकले आफ्ना परिवारबाट टाढा रहेर वृद्धाआश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको उल्लेख छ ।

आयोगका सदस्य प्रकाश वस्तीले प्रतिवेदन सार्वजनिक गर्दै भन्नुभयो, “ज्येष्ठ नागरिक निकै पीडामा छन्, सरकारले वृद्धाश्रम निर्माणका लागि लगानी गरेको छ तर लगानीअनुरुरूप प्रभावकारी अपेक्षित देखिँदैन ।”

मुलुकमा पश्चिमा संस्कृति प्रभाव बढ्दै जानु र युवाशक्ति अध्ययन वा रोजगारीका क्रममा विदेशिँदा पनि जेष्ठ नागरिक वृद्धाश्रममै बस्न विवश छन् । अध्ययनले समयमै सचेत नभए भविष्यमा यसले विकराल रूप लिने खतरा रहेको बताएको छ । आयोगले २०७४ चैतदेखि २०७५ असोजसम्म ४९ जिल्लामा ८६ वृद्धाश्रम, ३० दिवा सेवा केन्द्र र छ स्याहार केन्द्रको प्रत्यक्ष अनुगमन गरेको थियो ।

वृद्धाश्रम (आवासीय प्रबन्ध), कल्पवास (आफ्नै खर्चमा धार्मिकस्थलमा कुटी बनाई वा सम्झौतामा लिई आफैं व्यवस्थापन गरी बस्नु), दिवा सेवा केन्द्र (आफ्नै भरमा बस्ने, खाने, सुत्ने र दिनमा भेट्ने) र स्याहार केन्द्र (अशक्त वा विदेशमा परिवार रहेका ज्येष्ठ नागरिकलाई शुल्क तिरेर बस्ने ठाउँ) का बारेमा आयोगले अध्ययन गरेको हो ।

नेपालको जनगणना २०६८ सालका अनुसार नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २१ लाख ५४ हजार तीन थियो । तर बढ्दो औसत आयु र घट्दो जन्मदरका कारण तीनदेखि तीन दशमलव पाँच प्रतिशतसम्म ज्येष्ठ नागरिकको सङ्ख्या बढेको अध्ययनले देखाएको छ ।

विसं २०७५ कात्तिक मसान्तसम्म ज्येष्ठ नागरिकको सङ्ख्या २५ देखि २८ लाखसम्म भएको प्रक्षेपण गरिएको छ । देशभर ६४ जिल्लामा १४१ वृद्धाश्रम छन् । ती वृद्धाश्रममा एक हजार ५७७ जना रहेका छन् । त्यसमध्ये महिला बढी रहेका छन् । महिला ९६५ र पुरुष ६१२ रहेका छन् । दुई वटाबाहेक सबै वृद्धाश्रमका आफ्नै भवन छन् । छ वटा स्याहार केन्द्र भाडामा सञ्चालन भएका छन् भने नौ वटा दिवा सेवा केन्द्रका आफ्नै भवन रहेका छन् ।

एक वृद्धाश्रममा एक वद्धा

अध्ययनका क्रममा सरकारले सञ्चालन गरेको आठ वटा वृद्धाश्रम एक जना मात्र वृद्धा बस्ने गरेको भेटिएको छ । एक जना वृद्धाका लागि सबै स्रोत साधनको प्रयोग भइरहेको छ । त्यसबारेमा सरकारले अध्ययन गर्न जरुरी छ ।

त्यसैगरी तीनभन्दा कम आश्रित रहेको वृद्धाश्रम १० वटा रहेको छ । दश वा सोभन्दा कम आश्रित रहेको वृद्धाश्रम ४० वटा छन् । साथै १५ वा सोभन्दा कम आश्रित रहेको वृद्धाश्रम ५८ वटा छन् भने २० जनाभन्दा बढी बस्ने वृद्धाश्रम २७ वटा छन् ।

वृद्धाश्रमका नाममा करोडौँ लगानी

सरकारले वृद्धाश्रम खोल्न र सञ्चालन गर्न करोडौँ लगानी गरेको देखिन्छ । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा रु १० करोड ७० लाख वृद्धाश्रम भवन बनाउन लगानी गरेको छ । सोही मन्त्रालयले आव २०७४/०७५ मा रु आठ करोड ३० लाख लगानी गरेको थियो । त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आव २०७३/०७४ मा रु १३ करोड १६ लाख खर्च गरेको थियो । अर्थ मन्त्रालयले सोही आवमा रु सात करोड १९ लाख लगानी गरेको थियो ।

आयोगले गरेको अध्ययन प्रतिवेदनअनुसार लगानीअनुसार वृद्धाश्रमको अवस्था राम्रो देखिँदैन । वृद्धाश्रम छ भनिएको स्थानमा वृद्धाश्रम नै नभेटिएकोसमेत पाइएको आयोगका सदस्य प्रकाश वस्तीले अध्ययनको अनुभव सुनाउनुभयो ।

माया लाग्छ निष्ठुरीको