साङ्लोमै बित्यो उमाकान्तको जवानी

२१ मङ्सिर, सप्तरी । पूरै जवानी फलामे साङ्लो (जञ्जिर) मा बाँधिएरै बित्यो । उनकै अगाडि बाँधिएका पशुचौपायालाई चर्न दिन बेला–बेलामा खोलिन्छ तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्नीसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन् । घोंघीदाहाकी ४१ वर्षीया सुशीलादेवी चौधरीले नै आफ्ना श्रीमान्लाई १२ वर्षदेखि फलामे साङ्लोको हतकडी लगाएर राखेकी हुन् ।

क्षणभरमै रिसाउने, कराउने, मान्छेलाई देख्नासाथ छोप्ने, कुट्ने, मान्छेमाथि ढुङ्गा फ्याक्ने, जे भेट्यो त्यसैले हिर्काउने गर्न थालेपछि आजित भएर श्रीमतीको आग्रहमा गाउँलेहरुले नै हतकडी लगाएको र त्यो नखोलिएको सुशीलाले बताइन् ।

मानसिक रोगबाट पीडित बनेका उमाकान्तले एकपटक आफ्नी आमाको हात नै भाँचिदिए । एकपटक घाँस काट्ने हँसियाले खसीको गर्दन रेटे र कान काटेर पोलेर खाए । बाटो हिँड्नेलाई लाठी, ढुङ्गाले हिर्काउने, छरछिमेक र परिवारमै पनि दुःख दिने गर्न थालेपछि परिवारले नै उनलाई २०६३ सालमा बन्धक बनाएको भतिजी ललिता चौधरीले जानकारी दिइन् ।

उमाकान्तलाई राख्न घर अगाडि फोहर बग्ने नालामाथि टिनको पाताले छाएको सामान्य टाँटीले बेरेको खुला कटेरो बनाइएको छ । हतकडीमा बाँधिएका उमाकान्तको शरीरमा जुनसुकै मौसममा पनि एउटा कट्टु बाहेक केही हुँदैन । जाडो मौसममा पनि नाङ्गै शरीरमा रहनुपर्ने उनलाई ओढ्नका लागि एउटा मैलो सिरक छ । घरबाहिर एउटा खाट अट्ने खुला सानो कटेरोमा रहेको चिसो खाली खाटमा उनी बस्छन्, सुत्छन् । हथकडीले गर्दा उभिन भने सक्दैनन् । त्यही छाप्रो नै उनको संसार हो । दिसापिसाब पनि छाप्रोभित्रै गर्छन् । तल बग्ने गरेको फोहर नाली छिमेकीले बन्द गरिदिएका छन् । कपाल, दाह्री, नङ्ग १२ वर्षदेखि काटिएका छैनन् । हातमा लगाइएको हतकडी पनि १२ वर्षदेखि खोलिएको छैन जसले गर्दा उनको बायाँ हातमा गहिरो घाउको दाग नै बनेको छ ।

कसैले भनेको नमान्ने, बाटोमा हिँड्ने, छरछिमेकी देख्नासाथ पिट्ने, ढुङ्गामुढा गर्ने, परिवारका सदस्यलाई देख्नै नहुने, जे भेट्यो त्यसैले आक्रमण गर्ने भएपछि १२ वर्ष अघिदेखि उनलाई घरअगाडि कटेरोमा बाँधेर राखिएको हो । उनकै अगाडि बाँधिएका खसीबाख्रा बेलाबेलामा खोलिए पनि उनको हातमा लागेको हतकडी १२ वर्षदेखि खुलेको छैन ।

छाप्रो नजीक रहेको उनको घरमा श्रीमती र तीन छोरी बस्छन् । घोघींदाहाका टुरन र पल्टीदेवी चौधरीका दुई छोरामा उमाकान्त जेठा हुन् । बुबाआमा छुट्टै घरमा कान्छा रमाकान्तसँग बस्छन् । ठिक हुँदासम्म सगोलमै रहेका उनको मानसिक सन्तुलन गुमेपछि उमाकान्तकै ढिपीले अलग भएका हुन् । खेत रुग्न बस्दा रातभरी आँखा नझिम्काई जाग्राम बस्ने गरेका उनी विस्तारै बिरामी पर्दै गएको आमा पल्टीदेवीले बताइन् ।

शुरुका दिन साङ्लो चुँडालेर भाग्ने प्रयत्न असफल भएपछि उनी श्रीमतीलाई बेलाबेला हतकडी खोली दिन आग्रह गर्छन् । कुनै बेला त खोलिदिउँ झै पनि लाग्छ रे सुशीलालाई तर, खोल्नासाथ कुनै अप्रिय घटना हुने डर छ । साङ्लोको डाम देब्रे हातमा मज्जैले गढेर घाउ नै भएको छ  । सुशीलाले बिहान–बेलुका पाकेको भात लगिदिन्छन् । खान मन नलागे झिङ्गा भन्किरहेका हेर्छन्, भोक लागे खान्छन् ।

सामाजिक परम्पराअनुसार २०५४ सालमा विवाह हुनु अगावै उमाकान्तमा मानसिक समस्या देखिइसकेको रहेछ । एकहोरो टोलाएर बस्ने, भांैतारिएर हिँड्ने, एक्लै कुरा गर्ने, रिसाउने, कराउने गर्थे । आमाबुबाले थाहा पाएर ‘माइतमै बस, घर जानुु पर्दैन, अर्को विवाह गरिदिउँला’ पनि भनेका थिए तर, सुशीलाले ‘एकपटक जोसँग विवाह भयो उसैसँग जीवन बिताउने’ भन्दै आँट गरिन् । सुशीला भन्छिन् – “बुबा बनेर कमाएर ल्याउँछु, आमा बनेर पकाएर खुवाउँछु ।” ज्याला मजदुरी गरेर नै सुशीलाले तीन छोरी हुर्काइन् । तीनै छोरी घरनजीकैको विद्यालयमा पढ्छन् । कक्षा १० मा अध्ययनरत कान्छी छोरी १३ वर्षीया दिपीकालाई त उनका बुबाले बोक्न पनि पाएका छैनन् । दिपीका जन्मेलगत्तै जञ्जिरमा बाँधिएकाले दिपीकाले बुबाको माया अनुभव गर्न पाइनन् । कक्षा ३ मा पढ्दादेखि नै उनी पनि आमासँगै जङ्गलबाट दाउरा बोकेर ल्याई बेच्ने गर्थिन् ।

तीन छोरी हुर्काएकी सुशीलाको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवार र व्यवहार धान्न उनलाई समस्यै समस्या छ । “छोरीहरुको आमा पनि मै, बुबा पनि मै,” सुशिला भन्छिन् – “मजदुरीका सबै काम पुरुषले झै गरे पनि ज्याला भने कम पाइन्छ ।” सङ्घर्षपूर्ण जीवनले सुशीलालाई सबै काम गर्न सिकाएको छ । उनी खेतीको कामदेखि निर्माण मजदुरको कामसमेत गर्छिन् । सबै काम पुरुषले झै गरेपनि ज्याला भने कमै पाउँछिन् । धान रोप्ने, काट्ने गर्दा दैनिक तीन सय र निर्माण मजदुरी गर्दा चार सय रुपैयाँ मात्र पाइने गरेको उनी सुनाउँछिन् । बाँदरले हैरान गरेपछि आफ्नो तीन कठ्ठा खेतमा यसै वर्ष आँपको बिरुवा लगाएकी सुशीलाले शम्भु साहको चार कठ्ठा खेत बटिया (अँधिया) गर्छिन् ।

घरपरिवारले उपचार गराए, धामीझाँक्री पनि देखाए । उपचार गर्न लगेको अस्पतालबाटै भाग्ने, डाक्टरको सल्लाहबमोजिम औषधि नखाने र रातभरी सुत्न छाडेपछि उनको मानसिक अवस्था गम्भीर बन्दै गयो । युवावस्थामा बलिया र सुन्दर रहेका उमाकान्त मानसिक रोगबाट पीडित भएपछि पशु झै जीवन बिताउँछन् । “युवा उमेरमा घरखेतको सबै काम गर्ने बलिया र गाउँकै सुन्दर युवक थिए,” उनका ठूलो बुबा ढोढन दास सम्झनुहुन्छ – “उपचार हुन नसकेपछि उमाकान्तको पूरै जवानी बन्धनमै बित्यो ।”

“लामो समय भएकाले उपचारमा निकै खर्च हुन्छ होला,” वडाध्यक्ष सुशीलकुमार चौधरीले भने – “उपचार गराउन आर्थिक समस्याका साथै कहाँ लैजाने, कसले लैजाने भन्ने विषयमा पनि समस्या छ ।” चार कठ्ठा खेत अँधियामा गरी बाँकी समय ज्याला मजदुरी गरिरहेकी सुशीलालाई घरखर्च चलाउनै हम्मे छ । उपचारका लागि आफ्नो सामथ्र्य नभएको सुशीलाको भनाइ छ ।

“आफ्नो त जीवित भएर पनि बुबा नभए झै छ,” जेठी छोरी अस्मिताले अनुरोध गरिन् – “पशुभन्दा नारकीय जीवन बिताइरहेका बुबाको उपचारका लागि कुनै उपाय भए सहयोग गरी दिनुहोस् ।” (रासस)

माया लाग्छ निष्ठुरीको