११ बैशाख २०८१, मंगलबार

केटीको निहुँमा मुख्यालयमै रमिता


police head quater

काठमाडौं- प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाबैरी चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती। एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालाहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे।

हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौडँदै गए र पोसाकधारी प्रहरीको बचाउ गरे। प्रहार गर्ने युवालाई नियन्त्रणमा लिए।

साढे तीन बजेको घटना हो यो। नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्विक रेस्पोन्स भ्यान (सिआरभी) को सेतो जिप रोकिएको छ। एक हुल प्रहरी यताउता गरिरहेका छन्।

‘यो … ले बर्दीको प्रहरी कुट्ने? यसलाई भित्र हाल,’ प्रहरीकै भिडमा रहेका एक जना सादा पोसाकधारीले परम्परागत ‘जिब्रोको गरिमा’ प्रकट गरिहाले। कालो टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेट बोकेका र कपाल मसिनो काटेका ती हट्टाकट्टा युवकलाई दुई प्रहरीले समातेका थिए। उनलाई पछ्याउँदै थिइन् ती युवती। प्रहरीको विशेष कार्यदलको पोसाक लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए। १५ मिनेटजति प्रहरीका विभिन्न युनिटलाई जानकारी दिने कार्य भयो। प्रहरी प्रधान कार्यालयमा आएका पाहुना त्यसै रनभुल्लमा परे। धेरै प्रहरी मुख्यालयमा भइरहेको यो रमिता हेरेर मनोरञ्जन लिइरहेका थिए।

नेपाल प्रहरीको कुल ७२ हजार ७ सय १९ जना जनशक्तिको परिचालन केन्द्र प्रहरी प्रधान कार्यालयको मुख्य प्रवेशद्वारमा बिहीबार दिउँसोको यो घटनामा प्रहरीले घेरेर भ्यानमा बसाएका युवक नेपाली सेनाको छाउनी ब्यारेकमा तालिम लिइरहेका दोलखाका सैनिक हवल्दार जनकबहादुर तामाङ रहेछन्।

कुटाइ खाने जवान भने प्रहरी महानिरीक्षक निवासको सुरक्षामा खटिएका नेपाल प्रहरीका जगन्नाथ साहू रहेछन्।

विवादको मुख्य पात्र भने तिनै युवती रहिछन् जो केही बेरअघिसम्म सैनिक युवकलाई उत्तेजित गराउँदै थिइन्।

महानगरीय प्रहरी वृत्त, कमलपोखरीको सिआरभीले तीनै जनालाई नियन्त्रणमा लिएर कार्यालयमा लगेको थियो। वृत्तका अनुसार सबैलाई सम्बन्धित निकायको जिम्मेवारीमा बिहीबार नै छाडिएको छ।

प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले प्रहरी र सेनाबीच झगडा नितान्त व्यक्तिगत भएको बताए। उनका अनुसार व्यक्तिगत झगडा भएको र सोका विषयमा सोधपुछ भइरहेको छ। ‘दुई जनाको आपसी विषयमा झगडा भएको हो, कार्यालयको विषय होइन, हामी बुझ्दै छौं,’ जोशीले भने।

प्रहरी र नेपाली सेना दुवैले घटनालाई आपसी लेनदेनको विषय भने पनि घटना युवतीका विषयलाई लिएर भएको खुलेको छ। प्रहरीस्रोतका अनुसार तामाङ र साहु दुवैसँग निकट सम्बन्ध बनाएकी तिनै युवतीबारे बिहीबार दुई सुरक्षा निकायका जवान एकापसमा भिडेका थिए।

स्रोतअनुसार पति विदेश रहेकी ती युवतीले सेनाका तामाङ र प्रहरीका साहु दुवैसँग प्रेमको नाटक गरिरहेकी थिइन्। उनले दुवैसँग नियमित मोबाइलमा कुरा गर्दै आएकी थिइन्। युवतीले दुवैसँग आर्थिक कारोबारसमेत गरेको अनुसन्धान स्रोतले जनायो।

तामाङले महानिरीक्षक निवासको सुरक्षामा रहेका साहुलाई बाहिर बोलाएपछि झगडा सुरु भएको थियो। साहुले पोसाक खोलेर आउँछु भन्दा पनि तामाङले गल्ती गर्दा पोसाकको इज्जत भएन भन्दै कुट्न थालेका थिए। सुरुमै तामाङले मोबाइलमा जे पायो त्यही कुरा गर्ने? भन्दै झगडा सुरु गरेका थिए।

मुख्यालय परिसरमा ती युवतीले तामाङलाई पति भनेर परिचय दिएकी थिइन्। अनुसन्धानमा ती युवतीका पति विदेश रहेको खुल्यो।

वृत्तको नियन्त्रणमा रहेका सैनिक हवल्दारलाई प्रहरीले सैनिक प्रहरीको जिम्मा लगाएको छ। प्रहरी जवानउपर भने प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको छ। युवतीलाई सामान्य हाजिरीजमानीमा छाडिसकिएको छ।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सेनाका हवल्दार र प्रहरी जवानबीच आपसी लेनदेनका विषयमा झगडा भएको र प्रहरीले सैनिक हवल्दारलाई सेनाको जिम्मा लगाएको जानकारी दिए। उनले भने, ‘घटना आपसी लेनदेनको विषयलाई लिएर भनिएको छ, तालिममा रहेका सैनिक हवल्दारउपर अनुसन्धान सुरु भएको छ।’

प्रहरी र सेनाका अधिकारी र जवानले पोसाकमा वा सादा पोसाकमा रहेकै अवस्थामा सामाजिक मूल्यमान्यता र संगठनको आचारसंहिताविपरीत कार्य गरेको यो नै पहिलो घटना भने होइन। यस्ता थुप्रै घटना छन् जसले प्रहरीभित्र सुधारको आवश्यकता आंैल्याउँदै आएका छन्।

प्रहरीले आफूले भनेबमोजिम नभएपछि अस्पताल हाताभित्रै कर्मचारी कुटेको, बलात्कार उजुरी दिन आएकी पीडितलाई कुटपिट गरेको र सामान्य विवादमा पत्रकार कुटेको घटना यसअघि सार्वजनिक भइसकेका छन्। यस्तै मादक पदार्थ सेवन गरी कुटपिट र होहल्लाका घटनामा कमी आए पनि अझै रोकिएको भने छैन। प्रहरी प्रधान कार्यालय आफैंले गरेको अध्ययनमा यस्ता तथ्य सार्वजनिक भएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !