४ बैशाख २०८१, मंगलबार

घिउको बट्टामा ४ केजी चरेस


chares

श्रावण २६, २०७३- धादिङबाट दुईवटा घिउको बट्टामा लुकाएर ल्याएको ४ केजी चरेससहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएका प्रहरीले ढल्कुबाट चरेससहित उत्तम तामाङ, दिलबहादुर लामा र विशाल पुनलाई पक्राउ गरेको हो ।

डिब्बाको माथिल्लो मागको घिउ हटाएर हेर्दा त्यसभित्र चरेस फेला परेपछि तीनै जनालाई प्रहरीले हिरासतमा राखेको छ । वृत्त प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उत्तम धादिङका, दिलबहादुर मकवानपुरका र विशाल चितवनका हुन् ।

प्रहरीसँगको बयानमा उनीहरूले धादिङको आदमघाटका एक व्यक्तिले एक बट्टा घिउ लगिदिएबापत २ हजार रुपैयाँ दिन्छु भनेपछि आफूहरूले ल्याएको दाबी गरेका छन् ।

बिहान साढे ९ बजे ढल्कुमा बट्टा पुर्‍याउन आएका उनीहरूलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेका हुन् । ढल्कुमा चरेसको कारोबार हुने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेका थिए । तर, उनीहरूले फोन गरेर बोलाएको चौथो व्यक्ति बट्टा लिन नआएपछि प्रहरीले उनीहरूलाई नै समातेको थियो । प्रहरी अनुसन्धानबाट पक्राउ पर्नेहरू भरिया भएको खुलेको छ ।

राठौरले भने सो चरेस ठमेल क्षेत्रमा पर्यटकलाई बिक्री गर्न ल्याइएको हुन सक्ने बताए । ठमेलमा पर्यटकलाई लक्षित गरेर चरेस, गाँजा र हेरोइनको कारोबार हुने गरेको छ । केही कारोबारीले रेस्टुरेन्टभित्रै गमलामा गाँजा रोपेरसमेत ग्राहकलाई दिने गरेको सूचना पाएपछि प्रहरीले गाँजासहित एक रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको थियो ।

तेस्रो देश पुर्‍याउन नेपाल भित्रिने हेरोइन, अफिम बोकेर आउने भरियासमेत ठमेल क्षेत्रमै फेला पर्ने गरेका छन् । जानकार अधिकारीका अनुसार ठमेल क्षेत्रमा चरेस प्रतिकिलो ४० हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । मंगलबार फेला परेको चरेस उच्चकोटीको रहेको र प्रतिकेजी एक हजार ५ सय अमेरिकी डलरसम्म बिक्री हुने एक जानकारले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !