१३ बैशाख २०८१, बिहिबार

फ्लोरिडामा पुनः मतगणना, तनाव सिर्जना


अमेरिकी

२५ कात्तिक, टाल्लाहास्सी, फ्लान्डर्स । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको सिनेट र गभर्नरको मतगणनाको नतिजा सार्वजनिक भए पनि यहाँ पुनः मतगणना जारी छ । अमेरिकी मध्यावधि निर्वाचनमा निकै महत्वका साथ हेरिएको फ्लोरिडाको चुनावमा धाँधली भएको डेमोक्र्याट्स पार्टीले आरोप लगाएको छ ।

फ्लोरिडाको सिनेट र गभर्नरका दुई महत्वपूर्ण पदमा रिपब्लीकन पार्टीका उम्मेदवारहरु झिनो मतान्तरबाट विजयी भएका थिए ।

मियामी–डेड काउन्टीका निर्वाचन पदाधिकारीहरुले शनिबार साँझदेखि मतपत्र स्क्यानिङ गर्न थालिसकेका छन् । दक्षिण फ्लोरिडा काउन्टीमा खसेको आठ लाख मत स्क्यानिङ गर्न केही दिन लाग्नेछ । अमेरिकाकै तेस्रो ज्यादै ठूलो जनसंख्या रहेको फ्लोरिडा राज्यमा त्यस्ता ६७ वटा काउन्टी छन् ।

फ्लोरिडाका विदेश मामिला मन्त्रीले शनिबार यो मतपत्र गणना गर्न आदेश दिनुभएको थियो । यही राज्यमा सन् २००० को राष्ट्रपतीय निर्वाचनमा समेत अन्तिम नतिजा सार्वजनिक गर्न पाँच हप्ता लागेको थियो ।

फ्लोरिडाका ६७ वटा काउन्टीको पुनः मतगणना कहिले सकिन्छ भन्न सकिन्न, तर आगामी बिहीबारसम्म यो कार्य सम्पन्न गरिसक्नु पर्ने निर्वाचन संहितामा उल्लेख छ । टाम्पा बे क्षेत्रका दुई ठूला काउन्टीहरु पाइनल्यास र हिल्सबरोका निर्वाचन अधिकृतहरुले आइतबार बिहानदेखि पुनः मतगणना गर्ने जनाएका छन् ।

अनौपचारिक परिणामहरुले रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार बनेका रोन डेसान्टीसले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका टाल्लाहासका मेयर एन्ड्रु जिलमलाई शून्य दशमलब ५ प्रतिशतभन्दा कम मतान्तरले हराएको देखाएका छन् । सिनेटमा पनि रिपब्लीकनका गभर्नर उम्मेदवार रिक स्कटले डेमोक्र्याटिक पार्टीका बिल नेल्सनलाई शून्य दशमलब २५ प्रतिशतले पराजित गरेका छन् ।

राजनीतिक तनावको पृष्ठभूमिमा यो पुनः मतणना हुन लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रमाण बेगर नै शनिबार ट्वीट गर्दै निर्वाचनमा धाँधली भएको बताउनुभएको छ । शनिबार ब्रोवार्ड काउन्टीमा भेला भएका प्रदर्शनकारीहरुले विभिन्न साङ्केतिक चिन्ह र भाषा प्रयोग गरी चुनावमा धाँधली भएको जनाएका छन् ।

पुनः मतगणनाको घोषणा भएलगत्तै जिलमले गभर्नरमा पराजित भएको यसअघिको स्वीकारोक्ती फिर्ता लिनुभएको छ । उहाँले भन्नुभयो, “स्पष्ट रुपमा भनौं, म यो पुनः मतगणनाबाट खुशी छु, अब जेजस्तो परिणाम आउँछ त्यसलाई म स्वीकार गर्नेछु ।”

अनौपचारिक रुपमा विजयी घोषित डिसान्टीसले भिडियो सन्देशमा निर्वाचनको मतगणनाको नतिजा स्पष्ट रहेको र त्यसमा कुनै द्विविधा नरहेको दाबी गर्नुभएको छ । उहाँले आफू नै राज्यको गभर्नर रहेको र त्यसको तयारीमा आफू लागिसकेको बताउनुभएको छ । उहाँले निर्वाचनका सबै प्रक्रियामा अहोरात्र खटिएर कार्य गर्नेहरुप्रति धन्यवाद पनि दिनुभयो ।

सिनेटमा विजयी घोषित स्कट र राष्ट्रपति डोनाल्ड ट्रम्प समेतका उहाँका समर्थकहरुले डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएको ब्रोवार्ड काउन्टीमा चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । यो काउन्टीमा रिपब्लीकनको झिनो अग्रता मात्र थियो । मतदाता नामावलीमा कुनै गडबडी भएको कुनै प्रमाण भने भेटिएका छैनन् ।

फ्लोरिडाको कानुन कार्यान्वयन विभागले शुक्रबार निर्वाचनमा धाँधली भएको सम्बन्धी कुनै छानबिन अगाडि नबढाएको जनाएको छ ।(रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !