११ बैशाख २०८१, मंगलबार

सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिने


Nepalpatra

२२ कात्तिक, लहान । सरकारले पहिचान गरेको नयाँ पर्यटकीय गन्तव्यमा सलहेस फूलबारी परेपछि यस क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

सिरहा लहान नगरपालिका पडरियास्थित सलहेस फूलबारी सिरहाको प्रमुख पर्यटकीय स्थल छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा सलहेस फूलबारी परेपछि स्थानीयवासी उत्साहित भएका हुन् ।

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गतेका दिनमात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा ठूलो मेला लाग्ने गर्छ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख १ गतेका दिनमात्र अनौठो फूल फुल्ने र सोही दिनको साँझपख सो फूल ओइलाएर जान्छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको हो ।

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि ५ किलोमिटर पश्चिम राजमार्गमा पर्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा करीब १० बिगाहाको प्राचीन फूलबारीको दुई वटा रुखको मध्य भागमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला देखिने गर्छन् । ती फूलका माला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा सिमावर्ती भारतीय गाउँबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ ।

सलहेश फूलबारी मेलाको उचित संरक्षण तथा व्यवस्थापन र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कुनै पहल नभएको गुनासो उठिरहेका बेला सरकारले सलहेश फूलबारीलाई नयाँ पर्यटकीय गन्तव्यको सूची समावेश गरेपछि स्थानीयवासी खुशी भएका छन् ।

ढिलै भए पनि सरकारले सलहेश फूलबारीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा पारेपछि यसको समग्र विकास हुने विश्वास बढेको स्थानीयवासी तथा पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैत बताउनुहुन्छ ।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले मनोकाङ्क्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ठ रोगलगायतका रोगब्याधी हरण हुने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको विहार, पश्चिम बङ्गल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायत जिल्लाबाट हजारौँको सङ्ख्यामा मानिसहरु यहाँ आउने गर्छन् ।

सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ ।

फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइने गरिएको मन्दिरका पुजारी वीरदेव धामीको भनाइ छ । युवायुवतीहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा समेत बाँधिने गर्छन् ।

बाह्र बिगाहा क्षेत्रफलमा रहेको फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैँ उत्पन्न हुने गर्छ । भाकल गर्नेको मनोकामना पूरा हुने विश्वासका साथ भारतीय यहाँ आउने गर्छन् । मेलामा आउने लाखौँ भक्तजनमध्ये ३० प्रतिशत भारतीय दर्शक रहने गरेको अनुमान छ ।

सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रिस, क्रोध शान्त हुने गरेको जानकारहरु बताउँछन् ।

यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नका लागि सलहेश फूलबारीको पानी प्रयोग गर्नाका साथै हैजा महामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने जनविश्वास छ ।

निःसन्तान महिलाले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाएपछि ती सन्तानको मुण्डन गराउन पनि यहाँ आउने गरेका छन् ।

सिरहाभित्र पूर्व कर्णाटककालीन अवशेष रहेका छन् । यस जिल्लाको मान्यतालाई हेर्ने हो भने अत्यधिक सम्मान पाएका राजा सलहेश दुसाद जातिका कूल देवता भए पनि सबै जातजातिका लागि त्यत्तिकै पूजनीय र सम्मानित रहेको इतिहासविद् हरिकान्तलाल दास बताउनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !