४ बैशाख २०८१, मंगलबार

पत्रकार महिलाहरु देउसी खेल्दै


deusii

२२ कात्तिक, भद्रपुर । झापाका पत्रकार महिलाले अक्षयकोष अभिवृद्धिका लागि देउसी खेलेका छन् ।

महिला पत्रकारहरुको साझा सङ्गठन नारी सञ्चारगृह झापाले आज जिल्लाका बिर्तामोड, मेचीनगरलगायतका स्थानमा देउसी खेलेको हो ।

मादल, बाँसुरी, पियानोलगायतका वाद्यवादनसहित हिँडेको पत्रकार महिलाको देउसी टोलीमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकाजी, पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यलगायतको सहभागिता थियो ।

पत्रकार महिलालाई पेशामा टिकाइरहन नियमित तालीम र प्रशिक्षणको आवश्यकता महसुस गरेर त्यसका लागि यसैवर्ष अक्षयकोष स्थापना गरेको संस्थाकी सचिव रेजिना गौतमले जानकारी दिनुभयो ।

मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्कृति र परम्पराको जगेर्ना गर्दै पत्रकार महिला नै देउसी खेल्न आउँदा खुशी लागेको बताउनुभयो ।

प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, अर्का सदस्य गोपालचन्द्र बुढाथोकी र नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पत्रकार महिलाको देउसी टोलीसँगै छमछमी नाच्नुभएको थियो ।

कलम र टेपरेकर्डर चलाउँदै समाचारको खेतीमा व्यस्त रहने पत्रकार महिलाहरु आफ्नै आँगनमा सांस्कृतिक पाराको देउसी खेल्न आउँदा ज्यादै हर्ष लागेको प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । नारी सञ्चारगृहको अक्षयकोषमा प्रदेश सरकारबाट समेत सहयोग जुटाउन मद्दत गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

काङ्ग्रेसका केन्द्रीय प्रवक्ता शर्माले पत्रकार महिलाको देउसी उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो ।

देउसी टोलीमा लोक गायक मातृका सङ्ग्रौला नाकले बाँसुरी बजाएपछि सबैको आकर्षणको केन्द्र बन्नुभएको थियो । झापामा पत्रकार महिलाको सङ्ख्या ८० रहेको छ भने नेपाल पत्रकार महासङ्घमा ३९ जना महिला सदस्य छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !