११ बैशाख २०८१, मंगलबार

वायु प्रदूषण नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता


Nepalpatra

८ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यका क्षेत्रका नगरपालिकाका नगरप्रमुखहरुले वायु प्रदूषण नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

वायु प्रदूषण नियन्त्रण सम्बन्धमा आज यहाँ आयोजित उपत्यकाका महानगरपालिका र नगरपालिकाका नगरप्रमुखहरुको सम्मेलनमा उहाँहरुले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

ललितपुर महानगरपालिका, एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र स्वच्छ ऊर्जा नेपालद्वारा आयोजित सम्मेलनमा वायु प्रदूषण सबैको साझा समस्या भएकाले यसको समाधानका लागि सबैको साझा पहल आवश्यक रहेको उहाँहरुले जोड दिनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वयको खाँचो रहेको औँल्याउनुभयो ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा वायु प्रदूषण सबैभन्दा ठूलो समस्याका रुपमा रहेको बताउँदै समाधान लागि एक्लो स्थानीय तहको प्रयासले मात्र प्रभावकारी नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले हिमाली मुलुकको वातावरण क्षेत्रमा काम गरिरहेको बताउँदै वायु प्रदूषण नियन्त्रणका सम्बन्धमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतका लागि मेक्सिकोका राजदूत मेल्वा प्रियले मेक्सिको सिटीले वायु प्रदूषण नियन्त्रणमा हासिल गरेको प्रगतिबाट काठमाडौँ उपत्यकाकाले धेरै ज्ञान सिक्न सक्ने बताउनुभयो ।

त्यस्तै इसिमोडका क्षेत्रीय कार्यक्रम प्रबन्धक डा अरनिको पाण्डे र स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधरले उपत्यकाको वायु प्रदूषणको अवस्था र त्यसको समाधानका उपायबारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर, सूर्यविनायक, नागार्जुन, मध्यपुरथिमि, महालक्ष्मी, बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुखले उपत्यकाको पूर्वाधार विकास, वायु प्रदूषण नियन्त्रण र हरियाली प्रवद्र्धनमा आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुखले कार्यक्रममा उठेका विषय वस्तुलाई थप छलफल गरी साझा प्रतिबद्धता घोषणा गर्ने जनाएका छन् । सम्मेलनमा उपत्यकाका दुई महानगरपालिका र १६ नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उपस्थिति थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !