७ बैशाख २०८१, शुक्रबार

हिन्दू र बौद्ध अनुयायीको साझा संस्कृति आदिनाथ मेला


Nepalpatra

७ कात्तिक, काठमाडौँ । काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिर हिन्दू र बौद्ध अनुयायीको साझा मन्दिरका रुपमा विकास हुँदै गएको छ ।

मन्दिरमा रहेका मूर्तिलाई हिन्दू धर्मावलम्बीले शिवशक्ति र बौद्ध अनुयायीले लोकेश्वरका रुपमा आस्था प्रकट गरेको पाइएको छ । हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरबाट दुवै धर्मका भक्तजनको अन्योन्यास्रित सम्बन्ध तथा एकतामा सकारात्मक सन्देश प्रवाह भएको समाजसेवी गोपाल धितालले बताउनुभयो ।

हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित भएको मूर्ति राखिएका छन्, जसलाई अर्धनारेश्वर (आदिनाथ) भनिन्छ ।
बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । बौद्ध अनुयायीका अनुसार आनन्दादी लोकेश्वर चार करुणामयमध्ये एक हो ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म (एक महीना) चल्ने ‘आदिनाथ मेला’ आजदेखि शुरु भएको छ । उक्त मेलामा सहभागी हुन काठमाडौँ उपत्यकाका दर्शनार्थी आउने गर्दछन् । सर्वसाधारण भक्तजनको ग्रहदशा, भय, रोग, बिघ्नबाट आनन्दादी लोकेश्वरले मुक्त गर्न सक्ने विश्वास छ । भगवान लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्तिले परिपूर्ण हुने स्थानीय बुढापाकाको भनाई छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने विश्वास रहेको स्थानीयवासी राजेन्द्र थापाले बताउनुभयो । मन्दिरमा सप्त सत्वपूजा गरी पताका, ध्वजा, विभिन्न भाँडाकँुडा, गरगहना भने पहिल्यैदेखि चढाउने गरेको पाइन्छ ।

लिच्छवीकालीन समयमा निर्माण गरिएको मन्दिर पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । मन्दिरमा दर्शन गरेमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख र शान्ति भई समृद्धि हुने विश्वास छ । मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ । हरिबोधनी एकादशीदेखि पाँच दिनसम्म केही भक्तजनले निराहार व्रत बसेर पूजा गर्ने परम्परापनि छ । व्रत समापन गर्दा व्रतालुलाई आफन्त, इष्टमित्र तथा शुभेच्छुकलगायतले बाजागाजासहित डोली चढाएर लैजाने चलन रहेको स्थानीय व्यवसायी कन्हैया कुँवरले बताउनुभयो ।

काठमाडौँबाट करीब नौ किमी दक्षिणतर्फ अवस्थित उक्त मन्दिरमा विसं २०७२ को भूकम्प तथा परकम्पनका कारण क्षति पुगेकाले मन्दिरको संरचना मर्मत तथा जीर्णोद्धारसमेत भइरहेको छ । पौराणिककालमा आदिनाथ लोकेश्वर सिद्धिपुरका देवता भएको र अतिवृष्टि, अनावृष्टि भएका कारण सिद्धिपुरवासीले देवतालाई गोदावरी खोलामा फ्याँकिदिएको कथा सुन्न पाइन्छ । चोभारका स्थानीयवासी नन्दा ग्वालाले उक्त मूर्ति नख्खु दोभानमा भेटाएपछि वसुन्धरा मन्दिर (हालको स्थान चोभार डाँडा)मा स्थापना गरेको किंवदन्ती पाइन्छ । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन उक्त मूर्तिलाई स्नान गराउन मूर्ति भेटिएको स्थान नख्खुमा लगिने गरिन्छ ।

चोभार डाँडाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । उक्त मन्दिरबाट नजिकै रहेको मन्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल छन् । काठमाडौँ उपत्यका जलमग्न भएपछि मञ्जुश्रीले चोभारको डाडामा खड्ग प्रहार गरी पर्वत छेदन गरेको र पानीलाई निकास दिएको स्थान पनि यस क्षेत्रमा नै छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !