१३ बैशाख २०८१, बिहिबार

गजुरीको गलौंदीमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध


highway-jam

श्रावण १७, २०७३- आईतबार रातभर परेको अविरल वर्षातसँगै गएको पहिरोले गजुरीको गलौंदीमा ११ हजार केभिए विद्युत प्रशाारण लाईनको पोल ढाले पछि पृथ्वीराजमार्ग वरपरका ३ जिल्लाका एक दर्जन गाविसहरुमा विद्युत अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण राजमार्ग पनि केही घन्टा अवरुद्ध भएको थियो ।

पहिरोसँगै बगाएको रुखले मुख्यप्रशारण लाईन, अप्टिकल फाईबर, स्थानीय केबुल प्रशारणको तार र टेलिफोन लाईन सबैमा क्षती गरेको छ । विद्युत प्रशारण लाईन बिहान ७ बजे राजमार्गमै ढले पछि २ घण्टा सवारी साधन अवरुद्ध भएको थियो ।

‘उक्त विद्युत खम्वा ढलेपछि धादिङका गजुरी, सलाङ्ग, कुम्पुर, मलेखु, बेनीघाट, चरौंदी, विशालटार, मझिमटार, जोगीमारा, गोरखाको घ्याल्चोक गाविसहरुमा विद्युत प्रशारण बन्द भएको छ । यस्तै गजुरी र मलेखु बजारको टेलिफोन लाईन अवरुद्ध भएको गजुरीस्थित नेपाल विद्युत प्राधिकरणका रामललित यादवले बताए ।

धादिङमै पींडा–२, जहरेखेतमा ग्रामिण सडकबाट आएको हिलो र लेदोले बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध गरेको हो । ‘विहान भएका २ घटनाले राजमार्ग ५ घण्टा अवरुद्ध भएको थियो,’ गजुरी स्थित जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक मुरारी मिश्र बताए ।

उक्त स्थानमा यो दोश्रो पटक पहिरो गएको हो । पृथ्वीराजमार्गबाट दक्षिणभेगका १३ गाविसहरुमा जोड्ने २ दर्जन ग्रामिण सडक निर्माण गर्दा वर्षातको भेलले रातोमाटो र लेदो तथा बालुवाले राजमार्ग नै ढाक्ने गरेको छ ।

‘पहिरो ३० मिटर जति छ, गजुरीको सडक डिभिजन कार्यालयबाट डोजरहरु मगाएर पहिरोको अवरोध हटाई राजमार्ग पूर्णरुपमा सुचारु गर्ने प्रयत्न गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि प्रसाद पौडैलले भने ।

‘राजमार्गको ढल पुरेर ग्रामिण सडकको लेदो र भलपानी राजमार्गमै पुग्ने गरि सडक निर्माण गर्नु मापदण्ड विपरित हो,’ गजुरीस्थित सडक डिविजन कार्यालयका साईट ईन्जिनियर मधुसुधन सांखीले भने, ‘सोही कारणले पहिरो जानुका साथै सडक अवरुद्ध भएको हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !