८ बैशाख २०८१, शनिबार

स्थायी राजधानीको विषयमा विरोध र समर्थन


pradesh 7

११ असोज, धनगढी । प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बनाउनेबारे सुझावसहितको प्रतिवेदन सार्वजनिक भएसँगै आज यसको विरोध र समर्थनमा प्रदर्शन भएको छ ।

प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण आज यहाँको जनजीवन प्रभावित भएको छ । यता गोदावरी नगरपालिकाको अत्तरिया चोकमा प्रतिवेदनमा आएको सुझावको समर्थनमा ¥याली निकालिएको छ ।

अत्तरियामा भएको ¥यालीपछि आयोजितसभामा गोदावरी नगरपालिका प्रमुख हरिसिं साउद लगायतका वक्ताले प्रतिवेदनमा दिइएको सुझाव उपयुक्त रहेको बताउनुभयो ।

यता धनगढीमा गरिएको हडतालका कारण शिक्षण संस्था, व्यापार, व्यवसाय, यातायात लगायतका क्षेत्र ठप्प भएपछि जनजीवन प्रभावित बन्यो । धनगढीलाई प्रदेश नं ७ को अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो रकम खर्च भइसकेको अवस्थामा कुनै पूर्वाधार नरहेको र जङ्गल क्षेत्र रहेको कैलालीको गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानीको सिफारिश गर्नु उपयुक्त नभएको भनाइ एक थरीको छ भने अर्कोथरीले गोदावरी नगरपालिकाको तेघरीमा स्थायी राजधानी राख्नु सबै दृष्टिले उपयुक्त हुने तर्क गरेका छन् ।

प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को तेघरीमा रहेको जङ्गल क्षेत्रमा स्थायी राजधानी बनाउन उपयुक्त हुने ठहरसहित प्रतिवेदन मङ्गलबार प्रस्तुत गरेको थियो ।

प्रदेशको नामाङ्कनका विषयमा भने ठूलोरुपमा विरोध वा समर्थन देखिएको छैन । प्रदेशसभाको बैठकमा स्थायी राजधानी र नामाङ्कनसम्बन्धीको प्रतिवेदन उपर छलफल जारी छ । प्रदेशसभामा रहेका सदस्यको दुई तिहाइ मतले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषय टुङग््याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नं ७ को प्रदेशसभामा रहेका ५३ सदस्यमध्ये सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का ३९, प्रतिपक्षी नेपाली काङ्ग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सदस्यको प्रतिनिधित्व छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !