८ बैशाख २०८१, शनिबार

इस्लाम अनुयायीले बकरइदमा सद्भाव साटे


KTM_EID (9)

६ भदौ, काठमाडौँ ।  काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा आज भेला भई सद्भाव साटासाट गरेका छन् ।

प्रत्येक वर्ष अरवीयन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आशीर्वाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली मनाईन्छ । अल्हा (ईश्वर)ले आफ्नो भक्तजन इब्राइमलाई परीक्षा लिने क्रममा प्यारो वस्तुको बलि मागेकोमा इब्राइमले छोराको बलि दिन खोजेपछि त्यहाँ दैवीशक्तिले चौपाया उत्पन्न भएको विश्वास धर्मावलम्बीले गर्दछन् ।

खसी, बोकालगायत चौपायाको बलि गरी गरीब, इष्टमित्र र आफूलाई तीन भाग लगाइन्छ । समग्र आम्दानीको साढे दुई प्रतिशत दान गर्ने परम्परा छ । जामे मस्जिद व्यवस्थापन समितिका अध्यक्ष अब्दुल समीमका अनुसार एक ईश्वरवादको दार्शनिक मान्यता राख्ने इस्लाम धर्मावलम्बीले पहिलो महत्वपूर्ण पर्व इदुलफित्र मनाउने गदर्छन् । त्यसपछिको ठूलो पर्व अहिले मनाउने गर्दछन् । इस्लाम धर्मको आधार स्तम्भका रुपमा कल्मा, नमाज, रोजा, जकात र हजलाई लिने गरिन्छ । अध्यक्ष समीमका अनुसार नेपालमा मल्लकालीन समयदेखि नै बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीको जनसङ्ख्या करीब ५ प्रतिशत छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !