४ बैशाख २०८१, मंगलबार

मराङमा व्यावसायिक अलैँचीखेती


अलैँची

८ साउन, म्याग्दी । धौलागिरि गाउँपालिका–६ मराङमा व्यावसायिक रुपमा अलैँचीखेती शुरु भएको छ ।

गाउँपालिकाको सहयोगमा मराङको हाङ्बाङमा गठन भएको मालिका कृषक समूहले अलैँचीखेती शुरु गरेको हो । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत दुई हेक्टर जमीनमा अलैँचीका बिरुवा रोपेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

त्रिचालीसजना कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो । पाखोबारी र जंगलभित्रको ओसिलो क्षेत्रमा अलैँचीको बिरुवा रोपिएको हो । रोपेको तीन वर्षमा फल दिन शुरु गर्ने मसला प्रजातिअन्तर्गत पर्ने अलँैची चिस्यानयुक्त ठाउँमा खेती गर्न सकिन्छ ।

हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र राईले बताउनुभयो ।

लुलाङमा आलुखेतीको कार्यक्रम सञ्चालन भएको छ । लुलाङमा बीउ भण्डारण गृह निर्माण गरिएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७० हजार अनुदानमा उक्त भण्डारण गृह निर्माण गरिएको हो । यसका लागि गाउँपालिकाले रु तीन लाख अनुदान उपलब्ध गराएको थियो ।

रुप्से र अन्धगल्छीको गुरुयोजना तयार

अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको अन्धगल्छी र रुप्से झरनालाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको छ । वडा समितिको प्रस्तावमा गाउँपालिकाको रु एक लाख ५० हजार सहयोगमा पर्यटकीय पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गरिएको हो ।

गुरुयोजनाअनुसार रुप्से र अन्धगल्छीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माणका लागि रु दुई करोड ६५ लाख बजेट आवश्यक पर्ने वडाध्यक्ष नरसिङ पुर्जा बताउनुहुन्छ । “गाउँपालिका, प्रदेश र संघीय सरकारका साथै प्रवासी नेपालीको लगानी भित्र्याएर गुरुयोजना कार्यान्वयन गर्ने लक्ष्य छ”, वडाध्यक्ष पुर्जाले भन्नुभयो । रुप्से र अन्धगल्छी बीचमा रहेको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिएलगत्तै गुरुयोजना कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।

करीब ३०० मिटर उचाइबाट तीन खण्डमा बग्ने रुप्से झरना र अन्धगल्छीमा यसअघि पदमार्ग र भ्यूटावर निर्माण गरिएको थियो । गुरुयोजनामा अहिले निर्माण भएका पदमार्गको स्तरोन्नति र विस्तार, भ्यूटावर थप, अन्धगल्छी अवलोकनका लागि पुल, रुप्से झरनाको हरेक खण्डमा बिरुवा रोपण र प्रत्येक खण्डलाई तालको स्वरुप दिन प्रस्ताव गरिएको छ ।

अन्धगल्छी र झरनाको बीचमा वनभोजस्थल, व्यवस्थित पार्किङस्थल, रुप्से झरनाको माथिल्लो भ्यूटावरमा पुग्न सडक विस्तार र दुवैतर्फ स्वागतद्वार निर्माणको योजना रहेको इञ्जिनियर विष्णु रिजालले बताउनुभयो । (तस्वीर उपलब्ध छ)
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !