८ बैशाख २०८१, शनिबार

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता


Nepalpatra

४ साउन, इलाम । इलामको सूर्याेदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ ।

नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो । सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिनुभयो ।

नगर प्रमुख रणबहादुर राईले आफ्नो कार्यकक्षबाट नै कतिजना शिक्षक विद्यालय हाजिर भएको, कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गर्नुभएको छ ।

राइले भन्नुभयो, “यो विद्यालयमा राखिएको यो प्रविधि नेपालकै पहिलो हो ।” अन्य संघ संस्थामा यो प्रविधि जडान भए पनि सामुदायिक विद्यालयमा राखिएको बायोमेष्ट्रिक हाजीरी पहिलो भएको उहाँको तर्क छ ।
नगरका तीनवटा विद्यालयमा सो प्रविधि शुरु गरिएको छ । नगरपालिकाका फिक्कल मावि, कृष्णाश्रम मावि र करफोक माविमा पहिलो चरणमा बायोमेट्रिक हाजिरी प्रणाली सञ्चालन गरिएको छ ।

सामुदायिक विद्यालयको नतिजा राम्रो नहुने, शिक्षक, शिक्षिका नियमित विद्यालय नआउने लगायतका गुनासाको सम्बोधन हुने आशाले विद्यालयमा बायोमेट्रिक्स हाजिरी मेसिन राख्न शुरु गरिएको नगरपालिकाले जनाएको छ । शिक्षक विद्यालय आए पनि पूरा समय विद्यालय नबस्ने भएपछि विद्यालय आइसकेपछि शुरुमा र विद्यालय छुट्टी भइसकेपछि दुई पटक हाजिरी गर्ने व्यवस्था मिलाइएको छ ।

सूर्योदय नगरपालिकामा १५ वटा माध्यमिक विद्यालय छन् । पहिलो चरणमा तीन वटा विद्यालयमा राखिएको हाजिरी मेसिन प्रभावकारी भएपछि दोस्रोचरणमा अन्य विद्यालयमा सो प्रविधि राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा तीनवटा विद्यालय र दुईवटा प्राथमिक स्वास्थ्य केन्दमा सो प्रविधि राखिएको छ । सूर्योदय नगरपालिकाभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र प्राथमिक स्वास्थ्य केन्द्र पशुपति नगरमा यो प्रविधि सञ्चालनमा ल्याइएको छ ।

विद्यालय र प्राथमिक स्वास्थ्य स्कुलमै राखिएको डिजिटल मेसिनमा शिक्षक र स्वास्थ्यकर्मीले हातका औंठाले छोएर हाजिर गरेको नगरपालिकामा रेकर्ड जाने गर्दछ । नगरपालिकाले त्यसका लागि छट्टै कम्प्युटरको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख रणबहादुर राईले यो प्रविधि प्रभावकारी भएको भएको बताउँदै अझ अन्य विद्यालयमा थप गर्ने हौसला बढेको वताउनुभयो ।

एउटा विद्यालयमा रु २० देखि ३० हजारमा यो प्रविधि जडान गर्न सकिने बताइएको छ । यो प्रविधि खासै खर्चिलोसमेत नभएकाले सबै विद्यालय र कार्यालयमा थप्न सकिने प्रवक्ता लामाले बताउनुभयो ।

नगरपालिकाले नगरका सबै घरको लगत सर्वेक्षणसमेत डिजिटल प्रविधिबाट नै गरेको छ । नगरवासीले नगरपालिकाले राखेको आफ्नो रेकर्ड घरमा बसीबसी हेर्न मिल्ने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।

नगरपालिकाभित्रका बासिन्दाको व्यक्तिगत विवरण एकीकृत सम्पत्ति करको रेकर्डलगायतको विवरण डिजिटल प्रणलीमार्फत नै गर्न शुरु गरिएको । यसै वर्षबाट एउटा विद्यालय छनोट गरेर बिहान ७ बजेबाट नै विद्यालय सञ्चालन हुने बताइएको छ ।

बेलुका समेत ६ बजेमात्र विद्यालय छुट्टी हुने भएकाले सबै शिक्षक र विद्यार्थीको खाना र खाजा खर्चसमेत विद्यालयले नै व्यहोर्ने बताइएको छ । पाइलोट प्रोजेक्टका रुपमा एउटा विद्यालय छनोट गरेर काम अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !