५ असार २०८२, बिहीबार

रौतहटमा विपद्सँग जुध्न तीन सुरक्षा निकायको संयुक्त अभ्यास


रौतहटमा विपद्सँग जुध्न तीन सुरक्षा निकायको संयुक्त अभ्यास

रौतहट । रौतहटमा मौसमजन्य विपद् व्यवस्थापनका लागि संयुक्त रुपमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शुक्रबार गौर नगरपालिका-४ स्थित बरहवा तालमा अभ्यास गरिएको हो। जिल्लाका तीनवटै सुरक्षा निकाय-नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा विपद् प्रतिकार्य अभ्यास गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई-मधेश क्षेत्रमा मौसमजन्य विपद्को उच्च जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन अभ्यास गरिएको बताए। ‘विपद्को उच्च जोखिमयुक्त जिल्ला भएकाले विपद् प्रतिकार्य अभ्यास गरिएको हो,’ उनले भने।

अभ्यासमा नेपाली सेनाको नारायण दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वार्टर तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो।

संयुक्त अभ्यासमा विपद् न्यूनीकरणसम्बन्धी आगलागी नियन्त्रण प्रदर्शन, उद्धार सामग्री प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटरबोट तथा पुलबाट उद्धार प्रदर्शन लगायत विविध गतिविधि गरिएको थियो।

रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले वर्षायाममा सम्भावित विपद्जन्य घटनाहरू न्यूनीकरण गर्न अभ्यास गरिएको जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वार्टरका गणपति सन्तोषकुमार बस्नेतले यस्ता अभ्यासहरूले विपद् बेला उद्धार र राहतमा सघाउ पुग्ने बताए।

अभ्यासमा करिब २५० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !