२४ कार्तिक २०८१, शनिबार

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन


रतन टाटा

काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । टाटा सन्सका पूर्वअध्यक्ष टाटाको हिजो बुधबार राति मुम्बईस्थित एक अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।

उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दुरगामी व्यवसायी र एक असाधारण तथा दयालु व्यक्तिको रुपमा सम्झिएका छन् ।

रतनको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । भारत सरकारले उनलाई सन् २००० मा प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।

टाटा समूह भारतको सबैभन्दा ठूलो गाडी निर्माण तथा सबैभन्दा ठूलो निजी स्टील कम्पनी हो । टाटा कम्पनीहरूमा टाटा स्टील, टाटा मोटर्स, टाटा पावर र सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिस समावेश छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !