३१ असार २०८१, सोमबार

‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’


‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

वेदकोट, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन् ।

दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी छन् । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त छन् ।

‘आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ’, उनले भनिन्, ‘कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पुर्‍याउन सकेकोमा खुसी लाग्छ ।’

रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी)लगायतका पोसाक तयार पार्ने गरेको उनले बताइन् । ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गरेका छन् ।

‘आमासँग लुगा सिलाउने सिकें । अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छ ‘, उनले भनिन्, ‘लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ ।’

डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय छन् । सानैमा आमा र हजुरआमाबाट उनले पहिरन सिलाउने सीप सिकेका हुन् । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उनी बताउँछिन् ।

‘हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ । यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ’, उनले भनिन्, ‘वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।’

पहिरन बनाउन गाउँकै मानिस उनको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ ।

‘बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ’, उनले भनिन्, ‘सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !