३१ असार २०८१, सोमबार

एघार वर्षीय नाति र हजुरबुवा मृत फेला


मृत

नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटरको दूरीमा विगत चार, पाँच वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेती गर्दै आइरहेका थिए ।

वृद्धका छोरा, बुहारी, दुई नाति र एक नातिनी रहेकामा मृतक नातिलाई हजुरबुवासँगै छाडेर बुहारी डेढ महिनादेखि आफ्नो माइती भारत गएको बताइएको छ । मृतकका छोरा रोजगारीको सिलसिलामा अन्यत्र गएपछि बुहारी माइत गएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !