१२ बैशाख २०८१, बुधबार

गौशाला व्यवस्थापनबारे छलफल


Nepalpatra

२१ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित तिलोत्तमा गौशालाको व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) सँग सहकार्य गर्न सरोकारवाला सकारात्मक देखिएका छन् ।

तिलोत्तमा नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहका पदाधिकारी गौशाला व्यवस्थापनको जिम्मा इस्कोनलाई दिन सकारात्मक भएका हुन् ।

गौशालालाई आधुनिकरुपमा व्यवस्थापन गर्दै सञ्चालनको सम्पूर्ण जिम्मेवारी लिन इस्कान इच्छुक भइरहँदा नगरपालिकाले आइतबार सरोकारवालासँग छलफल गरेको हो । गौशालालाई अहिलेकै अवस्थामा धेरै समय चलाउन नसकिने निष्कर्ष निकाल्दै छलफलका सहभागीले इस्कोनसँगको छलफल अघि बढाउन नगरपालिकालाई सुझाव दिएका छन् । इस्कोनले गौशाला व्यवस्थापनसँगै वैदिक शिक्षा, स्वास्थ्यका कार्यक्रमसमेत सँगसँगै सञ्चालन गर्ने प्रस्ताव अघि सार्दै थप जग्गा माग गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, गौशाला व्यवस्थापन समिति, वन उपभोक्ता समूहलगायतका सरोकारवाला संघ–संस्थाका प्रमुखलाई इस्कोनले गौशालाको आधुनिक व्यवस्थापनसँगै गर्न चाहेको इस्कोनको प्रस्ताव सकारात्मक लागेपछि नगरपालिकाले सरोकारवालासँग छलफल गरिएको हो ।

छलफलमा नगर प्रमुख वासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले इस्कोनले राखेको प्रस्तावका बारेमा सरोकारवालालाई जानकारी गराउनुभएको थियो । छलफलमा गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहको नेतृत्वले आ–आफ्नो कार्यसमितिमा यसबारे आवश्यक निर्णय गरी पुनः अर्को चरणको छलफलमा जुट्ने बताएका छन् ।

तिलोत्तमा गौशाला शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा पर्दछ । चार बिगाह क्षेत्रफल रहेको गौशालामा हाल १६० गाई÷गोरु रहेका छन् । नियमित आर्थिक स्रोत अभावका कारण गौशाला व्यवस्थित हुनसकेको छैन भने बाहिर रहेका छाडा चौपायाको पनि पूर्ण व्यवस्थापन हुन सकेको छैन ।

छलफलमा सहभागी गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले आधुनिक र व्यवस्थितरुपमा गौशालालाई अघि बढाउन सञ्चालनको जिम्मेवारी इस्कोनलाई दिन समिति तयार रहेको बताउनुभयो । समितिका उपाध्यक्ष कृष्ण पौडेलले गौशालाको आधुनिक व्यवस्थापनको काम समिति र नगरपालिकाले पनि गर्न नसक्ने भएकाले त्यसको जिम्मेवारी इस्कोनलाई दिनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता यज्ञ गैरेले वनको खास हैसियत नबिग्रिने र जनताको अधिकतम हितमा हुने गरी गौशाला सञ्चालनको जिम्मा इस्कोनलाई दिन सकिने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !