२६ मंसिर २०८१, बुधबार

लोकतन्त्रवादी इन्जिनियरहरुबीच लोकप्रिय केसीले सार्वजानिक गरे ७ प्रतिवद्धता


लक्ष्मण केसी

काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सातौ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मध्ये लक्ष्मण केसी लोकप्रिय देखिएका छन् । नेपाली कांग्रसको शुभेच्छुक संस्थाको रुपमा रहेको सिडेनको महाधिवेशन भोली हुँदैछ ।

इन्जिनियरिङ पेशामा लामो अनुभव बटुलेका केसी सिडेनको संस्थापक पनि हन् । शालिन र भद्र व्यक्तिको रुपमा सदस्य माझ परिचित केसी आम इन्जिनियरहरूका दुख सुखका सहयात्री बनिदिन्छन्, जसले गर्दा केसी यस पटक सिडेनका मतदाताको रोजाईमा पर्ने एक इन्जिनियरले बताए ।

लक्ष्मण के.सि. नेतृत्वको समूहले आफ्ना सात प्रतिवद्धता सहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । केसी नेतृत्वको समूहले लोकतन्त्रप्रति प्रतिबद्ध इन्जिनियरहरू बीचको सहकार्य एवं समन्वय अभिवृद्धि गर्न प्रदेश तथा स्थानीय समितिहरुमा सिडेनको विधान बमोजिम अधिकार प्रत्यायोजन गरी सबै तहमा लोकतान्त्रिक इन्जिनियरहरुको पहुच सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ ।

त्यसैगरी समावेशी प्रतिनिधित्वको मुद्दालाई विधान संशोधन गरेर सम्बोधन गर्ने, सल्लाहकार समिति तथा विभिन्न विभागहरु चलायमान बनाउने, वरिष्ठ र कनिष्ठ ईन्जिनियरहरु बीच ज्ञान र अनुभवको साटासाटका लागि मेन्टरशिप, इन्जिनियर्स मिट जस्ता कार्यक्रमहरु गर्ने केसी समूहले जनाएको छ ।

सरकार एवं पार्टीलाई विभिन्न इन्जिनियरिङ्ग विधामा तथ्यमा आधारित नीति निर्माण र विषयगत प्राविधिक दृष्टिकोण बनाउन सुझाव एव पृष्ठपोषण दिने, राष्ट्रिय प्राविधिक मुद्दाहरुमा संस्थागत र आधिकारीक दृष्टिकोण स्थापित गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन, प्रदेश स्तरका सेमिनारहरु र विभिन्न प्राविधिक कार्यक्रमहरु आयोजना गर्ने केसी समूहको प्रतिवद्धता छ ।

डिजिटल सिडेनको अवधारणा कार्यान्वयन गर्दै नियमित कार्यालय संचालनको सुनिश्चितताको लागि पूर्णकालिन आई. टि. स्टाफको व्यवस्था गर्दै डिजिटल इन्जिनियर हेल्प डेक्स स्थापना गर्ने र सिडेनको अर्को चुनाव विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गराउने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

‘ग्रामिण तथा शहरी क्षेत्रमा कार्यरत इन्जिनियरहरु मार्फत आम जनचाहाना र समस्याहरुलाई सम्बोधन गर्न संस्थागत इन्जिनियरिङ समाधानका लागि राजनीतिक संगठनहरु, विभिन्न इन्जिनियरिङ्ग समाजहरु मार्फत नेपाल सरकारलाई नीति निर्माणमा समावेश गर्न पैरवी गर्नेछौ’ प्रतिबद्धता पत्रमा लेखिएको छ ।

आफ्नो समूहलाई निर्वाचित भएमा आफूहरुले सिडेनलाई सुदृढ गराउदै नेपाली कांग्रेसको रुपान्तरणको आभियानमा पनि योगदान दिने र इन्जिनियरिङ ज्ञान मार्फत नेपालको विकासमा टेवा पु¥याउने अध्यक्षमा उम्मेदवार लक्ष्मण केसीले अठोट व्यक्त गरेका छन् । केसी समूहबाट उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमन बहादुर खड्का, उपमहासचिवमा सुशिल लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेतले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय सदस्यहरुमा भने जगदिश नेपाल, इश्वर अर्याल, सन्दिप वाग्ले, नविन बस्नेत, दिपक पौडेल, शेखर नाथ चापागाई, सन्देश पन्त, अर्जुन बस्नेत , पद्मा अर्याल, सुसान्त भुजेल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थीले उम्मेदवारी दिएका छन् । त्यसैगरी बाग्मती प्रदेश सभापतिमा नरकान्त सापकोटाको नेतृत्वको समूह चुनावी मैदानमा उत्रिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !