८ बैशाख २०८१, शनिबार

गोरखामा ट्रक दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते


दुर्घटना

गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा परी गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका–७ घर भई राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत वर्ष ३२ का विष्णु खड्काको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उपरीक्षक लामिछानेले बताए ।

दिउँसो गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ आउँदै गरेका ट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल र बाटोमा रहेको पैदलयात्री लछारेर सडकदेखि झण्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा परेर घाइते हुनेमा सहिद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल रहेका छन् ।

अन्य घाइतेमा गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना र उमेर खुल्न बाँकी रहेका बुद्धीबहादुर नेपाली रहेका छन् । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !