७ बैशाख २०८१, शुक्रबार

नगर बस सञ्चालन गर्ने तयारीमा विराटनगर महानगरपालिका


नगर बस सञ्चालन गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ ।

महानगरकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएकाे हाे । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्कीले बताइन् ।

‘कुन–कुन रुटमा कति साइज र क्षमताका बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिएका छौँ’, उनले भनिन्, ‘दुई–तीन महिनाभित्रै नगर बस सञ्चालनमा ल्याउँछौँ ।’ ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्न लागिएको छ ।

महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्कीको भनाइ छ । बस वातानुकूलित सुविधासहितको हुने महानगरले जनाएको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो ।

प्रारम्भिक चरणमा १९ सिटी बस सञ्चालनको तयारी छ । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । नगर बस सञ्चालनका लागि प्रमुख नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !