८ बैशाख २०८१, शनिबार

बालाजु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन


यातायात मजदुरको आन्दोलन

काठमाडौँ । काठमाडौंको गोंगबुमा भएको घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । काठमाडौंको गोंगबुमा यातायात व्यवसायीले सोमबार गरेको आन्दोलनमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालसहित ५ जना छन् । समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो बुधबार काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका थिए ।

माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

फागुन १ मा भएको प्रदर्शनमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।

बालाजु घटनापछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको थियो । बालाजुका डीएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको थियो भने प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !