७ बैशाख २०८१, शुक्रबार

स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


गण्डकी प्रदेश

कास्की । गण्डकी प्रदेशभर आज फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो ।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदसैँमा बिदा दिँदै आएको छ । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार वार्षिकोत्सवलाई भव्य बनाउने गरी तयारी गरिएको छ । उनका अनुसार बिहान ७ः३० बजे शहीदचोकस्थित शहीद स्तम्भमा माल्र्यापणको कार्यक्रम रहेको छ । त्यसपछि शहीदचोकदेखि पोखरासभागृहसम्म प्रभातफेरीको आयोजना गरिएको छ ।

पोखरा सभागृहमा वार्षिकोत्सवको मूल समारोह आयोजना गरिएको छ । समारोहमा प्रदेशका उत्कृष्ट कर्मचारीको घोषणा, विपद् व्यस्थापनमा खटिएर उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीको सम्मान र मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरिने सचिव अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !