१२ बैशाख २०८१, बुधबार

प्याराग्लाइडिङका लागि पहल


ilam

६ जेठ, इलाम । पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महशुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आउनुभएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको हो ।

पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका १० वटै स्थानीय तहबाट प्याराग्लाइडिङका लागि जोड दिन पहल भइरहेको उहाँले बताउनुभयो । पर्यटन व्यवसायी रहनुभएकी राईको पहलमा इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट यसको परीक्षण उडान गरिएको छ । प्याराग्लाइडिङको सम्भाव्यताबारे जनप्रतिनिधि, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सञ्चारकर्मीसँग उहाँले छलफलसमेत गर्नुभएको छ ।

आठदेखि ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ गर्न सकिन्छ । यसका लागि हावाको तेज बहाव चाहिन्छ । यो मौसमी वातावरण इलाममा रहेकाले समेत प्याराग्लाइडिङको कम्पनी खोलेर सञ्चालन गर्न सकिने व्यवसायी राईले बताउनुभयो । सम्भावना अध्ययनका लागि राईसँगै प्याराग्लाइडिङ पाइलट विवेकशम्शेर राणा र विनोद लावतीसमेत आउनुभएको थियो ।

इलाममा ऐतिहासिक पुरातात्विक महत्व बोकेका र रमणीय स्थान प्रशस्त छन् । सम्भावना अध्ययनपछि पहल गरेर इलाममा प्याग्लाइडिङ कम्पनी खोल्ने र स्थानीय क्षेत्रमा नै प्याराग्लाइडिङ पाइलट उत्पादनमा जोड दिने सम्बन्धित निकायले जोड दिएका छन् ।
इलामका लागि प्याराग्लाइडिङ नयाँ कुरा भए पनि सम्भावना देख्दा सबैसँग सहकार्य गरी अघि बढ्न आफूहरू तयार रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो ।
जिम्मेवारी दिए आफूहरु नेतृत्व गरेर अघि बढ्न सक्नेमा जोड दिंदै उहाँले प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल गर्नेसमेत उहाँले जोड दिनुभयोे ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !