१९ माघ २०७९, बिहिबार

उपरथी प्रेम शाहीलाई ब्यारेकमै बस्न निर्देशन


प्रेम शाही

काठमाडौँ । सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।

उनमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।

प्रवक्ता भण्डारीले भने, “विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पुर्याउन पर्ने भएकाले उनलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।”

उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ । भोलि पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएकोमा माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !